भिडियो

चिनियाँ राष्ट्रपतिका लागि चिरिच्याट्ट काठमाडौं

काठमाडौं , चिनियाँ राष्ट्रपति सी चिनफिङको यही असोज अन्तिम साता हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं सिँगार्ने काम निकै तीव्रगतिमा भइरहेको छ ।रातारात सडक चिल्लो पारिएका छन् भने विभिन्न स्थानमा फूलका बिरुवा रोपेर सिँगार्ने काम पनि उस्तै गतिमा भइरहेको छ ।करिब दुई दशकपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको स्वागतमा काठमाडौंका सडक चिल्लो पार्नेदेखि विभिन्न स्थान सिँगार्ने काम धमाधम भइरहेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी हिँड्ने ‘रुट’ र आसपास पर्ने स्थानको मुहार फेर्न सरकार लागिपरेको छ ।

सरकारले गत वर्ष सम्पन्न बिम्स्टेक सम्मेलनका बेला ‘फ्लेक्स’ले बारेर छोपेको तीनकुनेस्थित चौर यसपालि भने आँखाले भ्याउनेसम्ममा स–सानादेखि ठूल्ठूला रुख रोपेर कृत्रिम बगैंचा बनाइँदैछ ।काठमाडौं प्रवेश गर्दा पहिलो आँखा पर्ने तीनकुनेको खाली जग्गा पार्क बन्दैछ, केही दिनको अवधिमै ।करिब ५३ रोपनी क्षेत्रफल रहेको खाली जग्गामा कल्की, धुपीलगायत विभिन्न प्रजातिका फूल रोपिएको छ । करिब ८ हजार दुबोको चपरी राखिँदैछ ।बगैंचा निर्माणको ठेक्का पाएका ठेकेदार रविन गौतम पहिलाजस्तो टिनको बारले छोप्नुभन्दा रुख–बिरुवा रोप्दा राम्रो देखिने भएकाले यस्तो गरिएको बताउँछन् ।

सडक कालोपत्रे गर्ने, ट्राफिक संकेत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोट–बिरुवा रोप्ने काम भइरहेको छ ।धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । माइतीघर मन्डला सजाउने काम पनि उत्तिकै भइरहेको छ । मन्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरिएको छ ।विगतमा पनि विशिष्ट व्यक्तिहरू नेपाल आउँदा यसैगरी सिँगार्ने गरिएको थियो ।सडक, पुल निर्माणाधीन क्षेत्रमा प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ ।चिनियाँ राष्ट्रपति सीको स्वागतमा करिब ४० ओटा स्वागतद्वार निर्माण हुनेछन् ।

Related Articles

Close