आज: २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी


  • गण्डकी छड्के
  • २०७९ कार्तिक ६, आईतबार मा प्रकाशित २ साल अघि
  • १६० पाठक संख्या
  • काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । उनले भने, “यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।”
    वर्षा सकिएकाले अस्थायीरुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ ।

    उनले भने, “सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ ।” गत वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पु¥यायो । तुलनात्मकरुपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उनले बताए ।

    त्यहाँका संरचना सफा गर्नु पर्दैन भन्ने अनुमान गरेपनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताए । गत वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइएपनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरुपमा भएपनि पहुँच सडक बनाइने छ ।

    कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँचपाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ ।

    आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ । अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । उनले भने, “पुल, सडक र संरचना बनाउँदा कसकसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ ।”

    दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौँ ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पु¥याएको थियो । आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो ।

    सोही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पु¥यायो । सरकारले अस्थायीरुपमा पहुँचमार्ग निर्माण गरेर गत वैशाखमा पुनःपानी पथान्तरण गरेको थियो । झण्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भएपनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो ।

    काठमाडौँ उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ ।

    आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङमार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङमार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । ‘हेडवर्क’ सम्पन्न नहुँदै बाढीले क्षति पु¥याएको थियो ।

    सरकारले विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु ग¥यो । दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पु-यायो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट