बुधबार १९ आश्विन २०७९
रासस

काठमाण्डाै – रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

जङ्गी अड्डामा आज बिहीवारदेखि सुरु ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीको इमानदारी र कर्तव्यपरायणबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्मरण पनि गर्नुभयो ।

उहाँले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्न, राष्ट्रिय सुरक्षामा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न तथा सुरक्षासम्बन्धी नीति निर्माण तहमा समान बुझाइ विकास गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना मित्रराष्ट्रसँगको सन्तुलित सम्बन्धलगायत छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको जानकारी गराउनुभयो ।

प्रधानसेनापति शर्माले सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग सडक आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनामा सम्बन्धित निकायको समन्वयमा स्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सिर्जना हुन सक्ने राष्ट्रिय सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा र प्रधानसेनापति शर्माबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत भएको थियो । दुई दिने बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवम् सुझावसहितको प्रस्तुतीकरण रहने कार्यक्रम छ ।

याे बैठकको निष्कर्ष र सुझावले आउँदा दिनमा नेपाली सेनाको नीति तथा योजना निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।


Last Updated on: August 25th, 2022 at 11:42 pm

तपाईको प्रतिक्रिया