बुधबार १९ आश्विन २०७९

काठमाडौं । मेयर बालेन्द्र शाहले अवैध संरचना हटाउने अभियानलाई शुक्रबार पनि जारी राख्नु भएको छ । शुक्रबार दिउँसो महानगरको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको थियो ।

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको हो । महानगरको एक टोली शुक्रबार त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारेको छ । विभागले पार्किङका लागि बनाइएको ठाउँमा सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको हुँदा खाली गराइएको हो ।

राहदानी विभागमा पार्किङको ठूलो समस्या थियो । पछिल्लो समय, काठमाडौं महानगरले पार्किङ व्यवस्थापनमा जोड दिइरहेको छ ।घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारिक लाभका लागि अन्य व्यवसाय संचालन गर्ने गरेको पाइएपछि महानगरले ती संरचना भत्काउने वा खाली गराउने गरेको छ ।

अवैध संरचना भत्काउन ३५ दिने सूचना जारी गर्दा पनि अटेरी गरेपछि महानगर डोजर लिएर पुग्ने गरेको छ ।महानगरले राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको बताएको छ । काठमाडौं महानगरपालिकाले यस्तो दाबी गरेको हो । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो ।

कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको खुलेको हो । काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले यसबारे जानकारी गराउनुभयो । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेको थियो ।

नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ भने राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाइएको थियो । महानगरले बेसमेन्ट खाली गरिसकेको छ ।

यसअघि महानगरले अनुरोध गर्दा विभागले सेवाग्राहीको भिडको कारण देखाएर मानेको थिएन । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न पाइदैन् ।

महानगरको रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड फेला परेको छैन् । विभागसँग नक्सा पास भए त्यसको प्रमाण भए पेश गर्न अनुरोध गरिने पनि उहाँले जानकारी गराउनुभयो ।


Last Updated on: August 26th, 2022 at 5:48 pm

तपाईको प्रतिक्रिया