शुक्रबार १४ आश्विन २०७९

महागरका मेयर आफैं डोजर लिएर अवैध रुपमा प्रयोग भएका स्थानहरू खाली गराउन हिँडेपछि अधिकांश सर्वसाधारणले सकारात्मक रुपमा लिएका छन्। उनलाई आम जनताले सामाजिक सञ्जालमा साथ दिइरहेका छन्। उनको कामको प्रशंसा पनि गरेका छन्।

यस्तै केही राजनीतिक दलका नेतृत्वहरुले पनि बालेको कामप्रति प्रशंसा गरेका छन्। प्रशंसा गर्नेमध्येकै एक हुन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई। उनले बालेनको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘वैज्ञानिक दृष्टिकोण, इमान्दारी र साहस यी तीन कुराको फ्यूजन जीवनमा भयो भने असम्भव काम गर्न सकिन्छ! सबै युवाहरूलाई विशेष आग्रह तथा शुभकामना!’

उनको कामको समर्थन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी भाँक्रीले उनको समर्थन गरेकी छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै झाँक्रीले अब सबै अवैध संरचना र अतिक्रमणहरू हटाउनुपर्ने बताएकी छन्।

आफूले नदी अतिक्रमण गरेर बनेका संरचना हटाउन खाेज्दा दबाब झेल्नु परेको उल्लेख गर्दै झाँक्रीले बालेनलाई भने राजनीतिक दबाब झेल्नुपर्ने अवस्था नरहेको टिप्पणी गरेकी छन्।

‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने। मैले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ। निर्वाचन आएको छ यसैले नगरौं भन्ने दबाब आयो र स्थगन गर्नुपर्‍यो,’ झाँक्रीले सामाजिक सञ्चालमा भनेकी छन्, ‘स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो। मेरो कार्यकाल लामो रहेन।

मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं। सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ। मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन।’ इमान्दार प्रयास सफल हुने उल्लेख गर्दै पूर्वमन्त्री झाँक्रीले आफू सधैं बालेनको साथमा रहेको बताएकी छन्।

तर बालेनको गतिविधिप्रति मुख्य दलका नेताहरुले भने आक्रोश पोखेका छन्। उनीहरुले बालेनको क्रियाकलापलाई अराजक भन्दै टिप्पणी गरेका छन्। एमालेका सांसद महेश बस्नेतले बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नियन्त्रण गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

उनले भनेका छन्, ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगेँ, बालेनजीको टिप्पणी हेरेँ खुसी लाग्यो। तपाईंलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला।’

बिहीबार अल्फाबिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फाबिटाका सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो। पछि अफिस गएर नक्सा ल्याई देखाउँदै शाहले उक्त संरचना भत्काएका थिए।

‘तपाईंलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चढ्दैनन्, ड्राइभर चढ्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन्।

बस्नेतले दुई/चार सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई चेतावनी दिएका छन्। ‘विगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन्, खोज्नैपर्ने भाको छ। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन। त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले फेसबुकमा लेखेका छन्।

यस्तै सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन्।

मेयर शाहले अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरूमा डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो। गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले ‘अराजक गतिविधि गर्न नहुने’ बताए।

उनले भने, ‘हामी आज बजारमा के के देख्दैछौं त? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साब। हाम्रो सिष्टमले भनेको त्यो हो त? त्यसको कानुनी प्रक्रिया छैन? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँडने हो भने त गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ।

स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयो भने के हुन्छ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौं? हामीले छलफलयता केन्द्रित नगरेको हो कि?

हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौं। त्यसलाई विधि अनुसार चलाउनुपर्छ। गल्ती गर्नेलाई पत्र काटे भयो। उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो। यतातिर ध्यान दिन जरुरी छ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासोसमेत गरे। उनले मेयर शाहको यस्तो गतिविधिले राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने दावी गरे।तर अधिकांश शीर्ष नेताहरू भने मेयर बालेनको कामप्रति मौन छन्।


Last Updated on: August 26th, 2022 at 11:30 pm

तपाईको प्रतिक्रिया