Wednesday, August 10

सशस्त्रमा प्रधानमन्त्रीका ज्वाइंको आतंक : बढुवा गर्न नियम संशोधनदेखि स्टाफ कलेजसम्म सेटिङ !

July 27, 2022

प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुंवर सशस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस गरिएको भन्दै सर्वत्र आलोचना भएको छ । वरियतामा निकै पछि र कार्यसम्पादन समेत कमजोर भएका कुवंरलाई शक्तिको आडमा बढुवामा एक नम्बरमा ल्याइएको थियो ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएसंगै सुरक्षा निकायको बढुवा सरुवामा चरम हस्तक्षेप भएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वांइ रहेका कुंवरको शुक्रबार एसएसपीमा बढुवा सिफारिस भएको थियो ।

गृहमन्त्री बालकृष्ण खांड, गृहसचिव टेकनारायण पाण्डे र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल उनलाई दुई नम्बरमा बढुवा गर्ने पक्षमा थिए । तर, प्रधानमन्त्री देउवाले गृहमन्त्री खांड र गृहसचिव पाण्डेलाई बालुवाटार बोलाएर हप्काएपछी कुंवरको एक नम्बरमा बढुवा सिफारिस भएको हो ।

कुंवरलाई बढुवा गर्ने विषयमा कुरा नमिल्दा एक दुई साता नै बढुवा प्रक्रिया रोकिएको थियो । सशस्त्र प्रहरीका आइजिपी अर्यालले सुरुबाट नै आफ्नो सचिवालयमा रहेका विष्णु भट्टलाई एक नम्बरमा बढुवा गर्न खोजेको स्रोत बताउंछ । तर, अन्तिममा प्रधानमन्त्री कार्यालयको दबावअघि उनको अडान समेत टिक्न सकेन् ।

‘क्षमता र कार्यसम्पादन राम्रो भएको भए त उनलाई अघि ल्याउनु पनि ठिकै थियो । तर, त्यो दुवै कुंवरमा पाइंदैन । वरियतामा समेत निकै पछी रहेकालाई एक नम्बरमा बढुवा गर्ने काम राम्रो भएन । यसले संगठनमा अरु अधिकृतहरुको मनोवल घटाउने काम भएको छ ।’ सशस्त्रका एक उच्च अधिकारीले भने ।

शक्तिकेन्द्रको आर्शिवादबाट अवसरै अवसर
सुदुरपश्चिमको कंचनपुर घर भएका कुवंर सशस्त्रमा कमजोर कार्यसम्पादन भएका अधिकृत मानिन्छन् । तर, अवसरका हिसावले उनले कंचनपुरको गड्डाचौकी नाकादेखि रसुवाको धुन्चे नाकासम्म काम काम गरेका थिए । आर्थिक हिसावले समेत उनको पारदर्शी छवि नभएको स्रोत बताउंछ ।

कुंवर डीएसपी हुन्दा दुई ठाउंको कमाण्ड गर्ने भाग्यमानी अधिकृत हुन् । उनि एसपी हुंदा पर्साजस्तो जिल्लामा गणपति थिए । कामु एसएसपी हुंदा उनि इन्टेलिजेन्समा कार्यरत रहेका थिए ।

उनले देउवा परिवारको शक्तिको बलमा सधै लाभको पद हांसिल गरेका हुन् । कुवंर २०५९ चैत्र ७ मा सशस्त्र प्रहरी निरिक्षकका रुपमा सेवा प्रवेश गरेका हुन् । सुरुमा उनि ७८ जनाको व्याचमा ७३ नम्बरमा थिए । तर, डीएसपी हुंदा भने ६८ नम्बरमा बढुवा भए ।

तत्कालिन सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले उनलाई एसपी हुंदा ११ औं नम्बरमा बढुवा गरेका थिए । खनाल हुंदा नै उनलाई सेटिङ गरेर नेपाली सेनामा स्टाफ कलेज गर्न पठाइएको थियो ।

सेटिङमा सेनाको स्टाफ कलेज पठाईयो
सशस्त्रमा स्टाफ कलेज नहुनुभन्दा पहिलो आन्तरिक रुपमा प्रतिस्पर्धा गराएर सेनामा स्टाफ कलेजका लागि पठाउने प्रचलन थियो । तर, सशस्त्रमा स्टाफ कलेज सुरु भएपछी परिक्षामा प्रथम हुनेलाई सेनामा पठाउने प्रक्रिया सुरु भयो । यदी प्रथम हुने अधिकृतले जान नचाहेको खण्डमा द्धितिय हुनेलाई पठाउने कार्यविधी बनाइएको छ ।

तर, कुंवर सशस्त्र प्रहरीको स्टाफ कलेजमा दुई पटक अनूर्तिण भएका थिए । उनि फेल भएपछी बिना प्रतिस्पर्धा समिति बनाएर उनलाई सेनाको शिवपुरीमा हुने स्टाफ कलेज कोर्समा पठाइएको थियो । जवकी सशस्त्र प्रहरीमा पुष्पराम केसी, नारायणबावु थापा, राजु अर्याल, विष्णु भट्टजस्ता अधिकृतहरुले सेनामा स्टाफ कलेज गरेका थिए ।

बढुवा गर्न नियमवाली नै संशोधन
तत्कालिन सशस्त्र प्रहरी प्रमुख खनालले देउवालाई खुसी पार्न त्यति मात्र गरेनन् सशस्त्र प्रहरी नियमवाली २०७२ नै संशोधन गरेर उनलाई एसएसपी बढुवा हुने बाटो समेत खोले । सशस्त्रमा एसएसपी हुने चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने नियमावलीमा उल्लेख थियो । तर, कुंवरकै लागि सरकारले नियमावली संशोधन गरेर तीन वर्ष मात्रै भए पुग्ने बनाएको थियो ।

यदी नियमवाली संशोधन नभएको भए आगामी चैतमा मात्र उनको चार वर्षे सेवाअवधि पुग्ने अवस्था थियो । तर, कुंवरकै लागि भनेर सशस्त्रमा गत असार २३ मा नियमावली संशोधन भयो ।

खासमा कुंवरलाई सिसम १ संगै बढुवा गर्ने खेल थियो । त्यसैले तत्कालिन सशस्त्र प्रहरी प्रमुख खनालले २०७७ माघमा ८ वटा एसएसपी पद खाली हुंदा समेत बढुवाको प्रक्रिया समेत अघि बढाएनन् । जव ११ जनाको दरबन्दी खाली भयो त्यसपछी मात्र गत मंसिरमा कुंवरलाई समेत राखेर कामुमा बढुवा गर्ने काम भयो ।

सशस्त्रमा राजनीतिकरणको यो एउटा नमुना मात्र थियो । खनालको पालामा राजनीतिक पहुंचको आधारमा मन परेकालाई पुछारबाट पनि अघि ल्याउने र मन नपरेका अधिकृतलाई वर्षमा तिन चोटीसम्म सरुवा गर्ने काम भयो । त्यसरी सरुवा हुनेमा डीआईजी अभिकुमार खत्री एक थिए । खत्रि सशस्त्र द्धन्द्धमा अछाम,जाजरकोट,कालिकोट र रोल्पाजस्ता जोखिमपूर्ण ठाउंमा खटिएका थिए ।

आर्थिक रुपमा समेत त्यो बेला कागज मिलाएर बजेट कुम्ल्याउने र सरुवा बढुवामा समेत लेनदेन हुने गरेको सशस्त्रकै अधिकारीहरु बताउंछन् । त्यसमा मुख्यगरी हालै डीएसपीमा बढुवा भएका गणेश मल्लहरुको योगदान थियो ।

बालुवाटारकै दबावमा प्रबन्ध विभागमा सरुवा र दुई पटक मेडल पाउन सफल

कुंवर दुई दुई पटक मेडल थाप्ने भाग्यमानि अधिकृत हुन् । उनको एक पटक त सेनाको स्टाफ कलेजमा तालिम गर्दा गर्दै उत्कृष्ट काम गरेको भन्दै मेडल पाउने सूचिमा पर्न सफल भए ।

अहिले तिनै कुंवरलाई फेरी बालुवाटारकै दबावमा सशस्त्रमा सबैभन्दा आकर्षक मानिएको प्रवन्ध विभागको प्रमुख बनाइएको छ । यो विभागले नै सशस्त्र प्रहरीको खरिदको सम्पूर्ण काम हेर्ने गर्दछ ।

सशस्त्रमा गुंट चलाउन सफल
कुंवरलाई अहिले सशस्त्र प्रहरीमा छाया आईजीपीजस्तै गरेर संगठन चलाएका छन् । उनले हरेक सरुवा बढुवामा चांसो दिने गरेको स्रोत बताउंछ । त्यतिमात्र होईन उनले मुख्यालयभित्रका मुख्य-मुख्य ठाउंमा आफु निकटका अधिकारीहरुको पोष्टिङ गराएका छन् ।

कुवंरले केन्द्रीय लेखामा करिव ५ वर्षदेखी डीएसपी गणेश मल्ललाई राखेका छन् । त्यतिमात्र होईन डीआईजी वंशि दाहाल,एसपी पूर्ण सांवद,विकास घिमिरेसम्म उनकै टिममा छन् । आफुलाई व्यवसायी बताउने रुपेश पाण्डे समेत उनको टिममा छन् ।पाण्डे सीमापारिबाट सामान ओसार पसारको काम गर्ने व्यवयासी हुन् ।

दाहाल र घिमिरे बाहेक अरु सबै सुदुरपश्चिम घर भएका अधिकृत हुन् । कुंवरको रवाफ कुनै बेला सशस्त्रमा रन्जन कोइरालाकैजस्तो भएको उनलाई चिन्नेहरु बताउंछन् ।

डिआइजीमा बढुवा गर्ने खेल
अहिले एसएसएपीमा आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा सिफारिस भएका कुंवरलाई यत्तिमै सिमित राख्ने मात्र बालुवाटारको चांहना छैन् । उनलाई रिक्त तीन वटा डिआइजीको पदमा बढुवा गर्ने खेल समेत भइरहेको स्रोतको दावी छ । किनकी डिआईजी र त्योभन्दा माथि बढुवा हुने सेवा अवधिको हद तोकिएको छैन ।

कुंवरसंग डिआईजीमा बढुवा हुने स्टाफ कलेज कोर्स समेत रहेको छ । त्यसका साथै वरियता मिच्न खप्पिस वर्तमान सरकारका प्रधानमन्त्री देउवा उनका काका ससुरा र जेठान भानु देउवा उनका स्वकिय सचिव छन् । कुवंरभन्दा अघिल्लो व्याचबाट दुई दर्जन एसएसपीहरु भएपनि उनलाई बढुवा गर्ने बालुवाटारको योजना सफल हुन्छ हुंदैन् त्यो त भविष्यलाई नै देखाउला ।काठमाण्डुपाटी

Comment