शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् ।

बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् ।

बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ ।३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् ।

यसले गर्दा जुनसुकै बेला महानगरको टोली आएर सामान निकाल्न समेत समय नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यवसायहरु आफैं सक्रिय हुन थालेको नगर प्रहरीका एक अधिकारीले बताए ।

‘बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र सामान हटाउन सुरु गरेका छन्,’ उनले भने ।उता अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

अवैध र अनधीकृत रुपमा प्रयोग भएका बालाजु बनस्थली क्षेत्रका घर टहरा भत्काएको हो। काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा भएका घर टहरा भत्काइएको हो। ‘हामी बिहानैदेखि बालाजु र बनस्थली आसपासका क्षेत्रका टहराहरु भत्काइरहेका छौं,’ पाण्डेले भने। महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले बनस्थली चोकमा रहेका टहरा भत्काएको हो।

डोजर चलाउने क्रममा केही स्थनीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो।


Last Updated on: August 27th, 2022 at 11:33 am

तपाईको प्रतिक्रिया