अमेरिकामा सपना पच्छाउँदा पछ्याउँदै परेको बज्रपात – Gandaki Chhadke
Friday, August 12

अमेरिकामा सपना पच्छाउँदा पछ्याउँदै परेको बज्रपात

July 27, 2022

नियतिले ठगेपछि अवसरको संसार र सपनाको देश भनेर नहुने रहेछ। अवसर नै अवसरको खानी ,उच्च गुणस्तरीय जीवनयापनको अवसर हैन रहेछ। अमेरिका बरु यो त भाग्यको बिषय रहेछ। भाग्य नै देब्रे लागेपछि सुःखद कथा मात्र हैन कहाली लाग्दो कहानी पनि बन्दो रहेछ अमेरिका र अमेरिकाप्रतिको रहर।

ठिकै थियो राम्रै थियो नेपालको हाम्रो जिन्दगी, राम्रै जीवन जिएका थियौं। म ब्युटीपार्लर व्यवसायी थिए काठमाडौंमा, उहाँको जागिर कतार एअरवेजमा। राम्रै थियो हाँसीखुसी बाँचेका थियौँ नेपालमा एउटा सानो छोराको साथमा।

अमेरिका सपनाको देश हो, विकास र वैभवताको अनुपम उदाहरण हो हामी जस्ता अल्पविकसित देशका हरेक युवाहरुका लागि। हामी पनि त्यही भिडको मान्छे, हामीलाई पर्छ यो चिट्ठा र हामी त्यति भाग्यशाली छौँ भन्ने कुरामा त्यति बिश्वस्त नभए पनि हरेक साल डीभी भर्ने गरिन्थ्यो।

नभन्दै आफ्नो लागि नपत्याएको बिषय भए पनि भरेको चिट्ठामा हामी छानिएको खबर आउँदा खुसी भयौं। हाम्रो सानो संसारमा ठूलो सपना साकार हुने देखेर झनै उत्साहित भयौँ। खुसी नै थियौँ त्यसमाथि अर्को खुसी थपियो डिभी। हामी यो धर्तीमा निकै भाग्यमानी मध्येमा पर्छौँ भन्ने लाग्यो।

सबै प्रक्रिया पुर्‍याएर अरु जस्तै हामी पनि एउटा सानो छोराको साथमा लगेजभरि आफ्नो मातृभूमिको र आफन्तहरुको मायालाई पोको पार्दै एउटा नयाँ संसारका सपनालाई साकार पार्न हामी पनि उड्यौं, त्यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट अमेरिका तर सबैको भाग्य उस्तै गतिमा र उस्तै सिद्धान्त बनाएर नचल्ने रहेछ। हाम्रो अलिक फरक भयो।

संसारमा कोभिड प्रकोप हामी आउने बित्तिकै शुरु भयो। काम लगायत अन्य कुराहरु पाउन शुरुमा समस्या भए पनि आएको केही समयपछि हाम्रो छोरीको जन्म भयो। झनै खुसी भयौं, आफूलाई भाग्यशाली ठानेर अगाडि बढ्यौं। तर त्यो खुसी धेरै दिन टिकेन।

कोभिडको शुरुको चरण थियो, म सुत्केरी थिएँ। त्यही समयमा मेरो श्रीमानलाई यसले आक्रमण गर्‍याे। २-४ दिन घरमै सामान्य उपचार गर्‍याैं तर अलिक गाह्राे भएपछि हस्पिटल लगियो। ठिकै छ सामान्य छ भन्दै थिएँ तर अचानक एकदिन धेरै गाह्राे भएर भेन्टिलेटरमा राख्नु परेको खबर आयो। ज्वरो नियन्त्रणमा नआएपछि र फोक्सोमा पानी भरिएको भन्ने थाहा पाएपछि फोक्सोवाट पानी पनि निकाल्नु परेको थियो।

११ दिन भेन्टिलेटरमा राखेपछि अलिक बिसेक भयो अनि १८ दिनपछि घर आउनु भयो। त्यसपछि फेरि भगवान र भाग्यलाई धन्यवाद दिँदै तिनै नेपाल छोड्दा देखेका सपनाहरुमा रमाउँदै त्यसतर्फ लगियो। तर त्यो समयमा मेरो मनमा एउटा प्रश्न चाहि उब्जियो-यो सहर जहाँ धेरै नेपालीहरु छन् , जहाँ धेरै समाजसेवी नेपालीहरु छन्, हरेक हप्ता समाजसेवामा गरेका गतिबिधि र देनहरुको चर्चाको खवर सुन्छु यही सहरमा।

कुनै नेपालीलाई कोभिडले आक्रमण गर्‍याे रे भन्दा पूरा समाज सनसनी हुँदो रहेछ। तर मेरो परिवारको यो यथार्थ किन कसैलाई मतलब भएन ? त्यसमा पनि चित्त बुझाएँ किनकि म नेपाली नै भए पनि यो ठाउँका लागि नयाँ छु, कसैले चिन्दैन, हाम्रा कथा र वास्तविकताबारे चासो हुने कुरा पनि भएन भन्ने लाग्यो।

त्यो अवस्थामा पुगेर पनि उहाँ निको हुनुभयो। फेरि पनि आफूलाई भाग्यशाली ठानेर अगाडि बढ्यौं। अब दुःखका दिन सकिए स्वस्थ्य राम्रो भयो, स्वास्थ्य राम्रो भए त जीवनमा जे गरेर खान पनि सकिन्छ नि भन्ने लागेर चित्त बुझाउँदै हामी खुसी भएका थियौं। तर यो खुसी नियतिलाई फेरि सैह्य भएन कि कुन्नि उहाँलाई एकदिन फेरि बिसन्चो भयो।

हस्पिटल जाँदा उहाँलाई कोलोनको क्यान्सरको शंका गर्‍याे र थप प्रमाणीकरणका लागि पठाइयो । यो परीक्षणमा पनि उहाँलाई क्यान्सर नै भएको ठहर भएर आयो। हामीलाई पछि थाहा भयो उहाँ कोलोनको क्यान्सरको चाैठाे स्टेजमा हुनुहुँदो रहेछ।

मैले यहाँ पनि ब्युटी सलोनमा काम गर्थे उहाँ एमेजोनमा। उहाँले काम गर्न सक्नुभएन ,थाहा पाउँदा नै चौथो स्टेजमा भएकोले किमो दिनुपर्ने भयो। काम छोडेपछि उहाँको कम्पनीबाट पाउने हेल्थ इन्स्योरेन्स पनि पाउने कुरै भएन। इन्स्योरेन्स नभएपछि कुनैपनि हस्पिटलले लिन मान्दैन। अलि अलि जगेडा गरेको पैसा पनि सकियो। खान र बस्न पनि समस्या भयो।

अपार्टमेन्टको रेन्टपनि तिर्न नसक्ने अवस्था भएकोले यहीं टेक्सासको युलेसमा एकजना आफन्त लोक भट्टले घरमा ल्याएर राख्नु भएको छ। हामीसँग इन्सोरेन्स छैन, बिना इन्सुरेन्स किमो दिने लाग्ने पैसा हामीसँग छैन। इन्सोरेन्सको लागि केही हुन्छ कि भनेर विभिन्न प्रयत्न गरिराखेका छौं। यहाँका हस्पिटलहरुमा भन्दा अर्को सहर ह्युस्टनमा अलिक सहज तरिकाले उपचार पाउन सकिन्छ कि, अरुवाट पनि त्यसको लागि सहयोग मिल्छ कि भनेर प्रयत्न गर्दैछौं।

कहिँकतैवाट सहयोग पाएर उपचार हुनसके अझै पनि वहाको जिन्दगी बाच्न सक्छ भन्ने जिजीबिषा बाँकी नै छ। यो अमेरिका अरुहरुको जस्तै हाम्रो पनि खुसी र अवसरहरुको देश हुन्थ्यो भन्ने जिजीबिषा अझै बाँकी छ।

यति धेरै नेपाल र नेपालीका लागि भन्ने संघ सस्थाहरुले र व्यक्तिहरुले समाजको लागि, मेरो समुदायको र मै जस्ता ब्यतिहरुको लागि धेरै राम्रो काम गरेका खबरहरु सुनिरहन्छु। सुनिरहन्छु हरेक दिन नेपालीहरुक ठूला ठूला समाजसेवा र गतिबिधिका खबरहरु यही सहरका। तर मेरो समस्याको चाही खबर पुर्‍याउने पनि कोहि छ भन्ने लाग्दैन।

किनकि अहिलेसम्म उहांहरुसम्म मेरो यो पीडा पुग्न सकेको छैन, म अल्मलिएकी छु, छट्पटिएकी छु, के गरौं कसो गरौं भएको छ। मेरो श्रीमानको उपचार सम्भव छ भन्छन् तर मैंले त्यसका लागि सामान्य खर्च पनि जुटाउन सकेकी छैन। यो दुखको खडीमा मेरो ध्यान मेरै नेपाली समुदाय र यहाँका समाजसेवीतिर गएको त छ तर उहाँहरुसम्म मेरो कुरा पुग्न सकेको छैन। कसैले यो कुरा उहाँहरुसम्म पुर्‍याइदिए मेरो श्रीमानकाे उपचारका लागि सहयोग पुग्ने थियो कि भन्ने लागेको छ।

Comment