आइतबार १६ आश्विन २०७९

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोजको आयोजना गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले रात्रीभोजको आयोजना गरेका हुन् ।

बैठकमै अध्यक्ष ओलीले तीजको अवसरमा रात्री भोज आयोजना गरिएको जानकारी गराएका थिए । अहिले बानेश्वरस्थित होटलमा एमालेका केन्द्रीय सदस्यहरू भोजमा सहभागी भएका छन्। भोजमा सहभागी एक केन्द्रीय सदस्यले नाचगान भइरहेको जानकारी दिए ।

यस क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो अनुसार अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदै गरेको देखिएका छन् ।शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।

नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ ।४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने ।पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए ।

दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रुपमा कसैलाई अघि सारेको थिएन । तर गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बने ।

एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओलीलाई थप सहज भयो । तर दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।नेकपा एमाले समानुपातिक निर्वाचन पद्धतितर्फ एक पटक अवसर पाएकाहरुलाई नदोहोर्‍याउने नीति लिएको छ ।

शनिबार सकिएको केन्द्रीय कमिटी बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ र २२ भदौभित्र सिफारिस गरिसक्न पार्टीका तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमालेले पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई छनोट मापदण्ड बनाएको छ ।

तर समानुपातिक मत भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने भन्दै उसले बन्द सूची बनाउन सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

दामाशाहीमा वितरण भनेको प्राप्त अवसरको न्यायोचित वितरण भएको भन्दै एमालेको निर्णयमा भनिएको छ, ‘समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई आम रुपमा दोहोर्‍याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणाली लागु गर्नुपर्छ ।’


Last Updated on: August 27th, 2022 at 8:03 pm

तपाईको प्रतिक्रिया