Wednesday, August 10

कोरोनाले श्रीमान लाइ खोसेर लग्यो, ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

July 27, 2022

शुरबहादुर सिंह/ सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन ।

त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा अस्थायी रुपमा बस्दै आएकी पद्मा रावतको जीवनमा प¥यो । विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना रोगका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु प¥यो ।

विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुग्नुभयो । त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा कोरोना व्यापकरुपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि बन्दाबन्दी गरिएको थियो ।

बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उहाँलाई कोरोना सङ्क्रमण देखियो । “कोरोना सङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन ।” पद्माले भन्नुभयो, “दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो । बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो ।

पति वियोगले उहाँलाई केही समय सम्हालिन गाहे भयो । असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तरपनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उहाँलाई ।

पतिले लाखौं ऋण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उहाँको विछोडको पीडा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋणको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो ।

पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेशमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो । झनै कोरोना रोगले मृत्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरु चाहेर पनि भेट्न मान्दैनथे ।

Comment