
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई संघ र चार प्रदेशसभाका लागि शुक्रबार उम्मेदवार सिफारिस गरेको हो।
प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ। समाजवादीले तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ ‘किसान’, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्काको नाम सिफारिस गरेको छ।
सिफारिसमध्ये किसान एमालेबाट २०७४ मा निर्वाचित भएका हुन्। उनले कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गरेका थिए।किसान रामचन्द्रलाई छाडेर बारा जाने चर्चा छ। तर समाजवादीले उनको नाम पनि प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो।
प्रदेश (क) तर्फ विद्या ढकाल, रामकला पौडेल, लालकुमार श्रेष्ठ र कल्पना नेपाली सिफारिस भएका छन्। प्रदेश (ख) तर्फ मनुमाया श्रेष्ठ, गजेन्द्र पन्थ, श्रीप्रसाद भट्टराई र तेजबहादुर सुनार सिफारिस भएका छन्।
तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शङ्कर पोखरेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भएका छन्।प्रदेश (क) तर्फ रेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ, थमन आले, कमल गैरे सिफारिस भएका छन्।
प्रदेश (ख) तर्फ काजीमान श्रेष्ठ, भक्त रसाइली, मधुमाया ढकाल, सूर्यप्रसाद तिमिल्सिना, पूर्णबहादुर थापा र भूपाल थापा सिफारिस भएका छन्।
क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका उम्मेदवारमध्ये जिल्ला कमिटीले एक महिलासहित तीनको नामावली पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गर्ने पार्टी सचिव श्रीराम कार्कीले बताए। उनका अनुसार जिल्ला कमिटीको बैठक भदौ १२ गते बस्दैछ।