माओवादीले भनेअनुसार सिट बाँडफाँट हुँदैन : शेखर कोइराला – Gandaki Chhadke
Friday, August 12

माओवादीले भनेअनुसार सिट बाँडफाँट हुँदैन : शेखर कोइराला

July 27, 2022

वीरगञ्ज । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको बताएका छन् । सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला कोइरालाको यस्तो धारणा आएको हो ।

नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने, ‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज (ठूलो) पार्टी हो ।’

संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले बताए । ‘प्रदेश र संघको निर्वाचनमा होमिंदै छौं, कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको छ,’ उनले भने ।

तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी हुनुपर्ने कोइरालाले बताए । तालमेलका लागि उनले तीन शर्त राखे । पहिलो, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्युनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको शर्त छ ।

संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनले बताए । ‘सिट बाँडफाँट कसरी हुन्छ त म भन्न सक्दिनँ, तर जसरी माओवादीले सिट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन,’ उनले भने, ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’

गिरीजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।

Comment