शुक्रबार १४ आश्विन २०७९

सुन्धारास्थित ‘काठमाडौं मल’ नक्सै पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकाले मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको जनाएको छ ।

भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रूपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरू राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।

काठमाडौं मलको भवन कर्मचारी सञ्चय कोषले आफ्नाे जग्गामा व्यावसायिक प्रयोजनका लागि निर्माण गरेको हो । तर, अहिले आएर नक्सा पासबिनै निर्माण गरेको खुल्न आएको छ ।महानगरपालिकाले पटकपटक सूचना दिएर अभिलेख गराउन अनुरोध गर्दासमेत अटेरी गरेको जनाएको छ ।

कानुनी हिसाबले मलको संरचनालाई महानगरपालिकाले ‘नचिन्ने’ भन्दै नक्सा पास विवरण ल्याउन पुनः आग्रह गरेको छ । नक्सा पास नभए स्थानीय सरकार सञ्चालन ऐनअनुसार गरिएको व्यवस्थाबमोजिम कारबाही गर्ने पक्षमा महानगर पुगेको छ ।

केही दिनदेखि महानगरभित्रका अनधिकृत संरचना हटाउने काममा सक्रियता देखाएको महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन महानगर प्रमुख बालेन्द्र साह स्वयं फिल्डमा खटिने गरेका छन् ।

यसैक्रममा महानगर टोलीले शनिबार बिहान बालाजु क्षेत्रका अनधिकृत संरचना भत्काएको छ ।बनस्थलीबाट ढुंगेधारा जाने सडकमा निर्माण गरिएका अनधिकृत आधा दर्जन टहरा भत्काइएको छ । टोलीले सडकपेटी मिचेर बनाइएका तीन भ¥याङसमेत भत्काएको छ ।

गत सोमबार महानगर टोलीले नयाँ बानेश्वर क्षेत्रमा एउटा प्रयोजनका लागि नक्सा पास गरेर अनधिकृत रूपमा सञ्चालित घर तथा पसलमा मेसिन प्रयोग गरेर भत्काउन थालेको थियो । अल्फाबिटामा निर्माण भएको अनधिकृत संरचनासमेत उसले हटाएको छ ।

महानगर प्रमुख साहले अन्डर ग्राउन्ड पार्किङ ‘अन्य प्रयोजनमा नलगाऊन्’ भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएकाले ‘पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचना अनुगमन गरी कारबाही थालिएको’ बताएका छन् । साहले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही हुने बताउँदै छन् ।

काठमाडौं उपत्यकामा अधिकांश ठाउँमा पार्किङका लागि भनेर नक्सा पास गरेर सटर भाडामा दिई व्यवसाय गर्ने गरेको पाइएको छ । महानगरले अहिले त्यस्तो कार्य हटाउन थालेको हो ।राजधानी


Last Updated on: August 28th, 2022 at 12:29 pm

तपाईको प्रतिक्रिया