
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकामा फुड निरिक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्। महानगरको आठौं कार्यपालिका बैठकमा उनले यो प्रस्ताव राखेका हुन।
उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतकाे गुणस्तर निरिक्षण गर्ने उद्देश्यले नियुक्ती गर्ने प्रस्ताव अघि सारेका हुन्। शाहले खानाको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले फुड टेक्नोलोष्टि नियुक्त गर्न प्रस्ताव गरेको हुन।
उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परिक्षण गर्नेछन्। त्यस्तै काठमाण्डौ महानगरपालिकाले रत्नपार्ककाे सब–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ । त्यहाँ केही संरचनाहरू अनधिकृत रहेकाले भत्काउन थालिएको महानगर प्रहरीले जनाएको छ ।
महानगर प्रहरीको टोलीले केही शटरहरू पनि भत्काएको छ । फुटपाथका स–साना सटरहरू पनि भत्काइएका छन् । आफैँ खाली गर्छाैँ भनेकालाई भने छाडिएको महानगरपालिकाले जनाएको छ । काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत हिजो शनिवार वनस्थलीको ढुङ्गेधारा क्षेत्रमा बनाइएका अवैध संरचना हटाएको थियो ।
यस्तै अस्ति शुक्रवार त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो । महानगरपालिकाले गएको सोमवारदेखि नक्सा विपरीत निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि त्यहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान थालेको हो ।
यो अभियानअन्तर्गत बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल, र आरबी कम्प्लेक्सका १४ साना पसल र अल्फा बिटामा निर्माण गरिएको अवैध संरचना भत्काइ सकिएको छ । आनाकानी गर्दै आए अरू ठाउँका संरचनामा पनि डोजर चलाउन महानगर बाध्य हुने महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभएको छ ।
अहिले बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यो अभियानबाट पार्किङको समस्या कम भएसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरपालिकाले विश्वास लिएको छ ।