
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्। उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने प्रस्ताव गरेका हुन्।
महानगरको आज बसेको नगर कार्यपालिकाको आठौं बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेका छन्। शाहले नेपाल सरकारको तर्फ बाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रुपैयाँ दिइरहेको र काठमाडौ महानगरले १० रुपैयाँ थप गरी दिने प्रस्ताव गरेका हुन्।
त्यस्तै मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् ।
मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।
त्यस्तै काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।