Wednesday, August 10

अब काठमाडौंबासीले फोहोरको पैसा तिर्नु नपर्ने, उल्टै सरकारले पैसा दिने

July 27, 2022

काठमाडौं–

सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौंको फोहोर व्यवस्थापन काठमाडौंमै गर्ने योजना रहेको बताएका छन्।

बुधबार मन्त्रालयमा आफ्नो एक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै घर–घरबाट निस्किने फोहोरलाई उत्पादनको कच्चा पदार्थको रुपमा बुझ्नुपर्ने र फोहोरबाट ग्यास, बिजुली तथा मल उत्पादन गर्ने योजना रहेको बताएका हुन्।

उनले हाल काठमाडौंबासीले फोहोर व्यवस्थापनका लागि पैसा तिर्नुपर्ने रहेको अवस्थालाई परिवर्तन गरी जनताबाट फोहोर लिँदा पैसा दिनेगरी योजना बनाउन आवश्यक रहेको बताए।

उनले प्रतिनिधि सभाको निर्वाचनसम्म आफ्नो कार्यकाल हुनसक्ने र आफ्नो कार्यकालमै फोहोरबाट ग्यास, मल र बिजुली उत्पादन गर्न नसके पनि प्रक्रियाको थालनी गरिने दाबी गरे।

‘यो छोटो अवधिमा मैले ग्यास, मल बिजुली उत्पादन गर्न नसकुँला तर त्यो प्रक्रियामा हामी लैजान्छौं,’ उनले भने, ‘त्यसैले फोहोर व्यवस्थापनमा सधैंभरी हड्ताल गर्नुपर्ने र झगडा गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।’

उनले बुधबार नै सिसडोलबासीले भदौ एकगतेभित्र समस्या समाधान गर्न भन्दै आफ्ना मागहरु राखेर चुनौती दिएको पनि स्मरण गराए।

मन्त्री चौधरीले सिसडोलबासी र सरकारबीच १७ वर्षमा १७४ पटक सम्झौता भएको तर समस्या समाधान नभएको उल्लेख गरे। उनले फोहोर व्यवस्थापनका लागि नयाँ योजनाका लागि अगाडि बढ्ने जानकारी दिए।

यस्तै कार्यक्रममा वञ्चरेडाँडा ल्याण्डफिल आयोजनाका आयोजना निर्देशक रविन्द्र बोहराले वञ्चरेडाँडामा बिहीबारदेखि एकतर्फी सडक सञ्चालन हुने र काठमाडौंको फोहोर ल्याण्डफिल साइडमा लैजान सुरु हुने बताए।

बोहराले काठमाडौंको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि धरानमा जस्तै गरी कुहिने फोहोरबाट ग्यास र मल तथा नकुहिने फोहोरबाट बिजुली निकाल्ने गरी योजना बनाइएको जानकारी दिए।

Comment