आइतबार १६ आश्विन २०७९

नेपालगन्ज उपमहानगरपालिकाका तत्कालीन मेयर डा. धवल शमशेर राणाले गलत मनसाय राखेर करोडौं मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिदिएको खुलासा भएको छ।

न्यूरोडस्थित करिब १ कठ्ठा सार्वजनिक जग्गा पूर्वमेयर राणाले कार्यकाल सकिनुभन्दा ३ महिनाअगाडि व्यक्तिको नाममा गरिदिएको खुलासा भएको हो। न्यूरोड क्षेत्रमा अहिले चलनचल्तिमा १ कठ्ठा जग्गाको मूल्य कम्तीमा पनि १० करोड पर्छ।

मेयर प्रशान्त विष्टका अनुसार यो जग्गा सार्वजनिक भएको जान्दाजान्दै राणले व्यक्तिको नाममा गरिदिएका हुन्। तर आफूहरू जग्गा फिर्ताको पहलमा जुटिसकेको विष्टको भनाइ छ। कार्यकाल सकिनुभन्दा ३ महिना अगाडि राणाले बोर्डबाटै निर्णय गराएर व्यक्तिका नाममा जग्गा गरिदिने प्रक्रिया अगाडि बढाएको देखिएको विष्टले जानकारी दिए।

उनले भने,‘बोर्डबाटै निर्णय गराएर जग्गा व्यक्तिलाई दिने प्रयास भएको हो। जुन जग्गा सार्वजनिक भएको पुष्टि भइसकेको छ।’नगरविकास समितिले यो जग्गालाई सार्वजनिक भएको भनेर जनाउँदाजनाउँदै पूर्वमेयर राणाले आफ्नो कार्यकालको अन्तिम समयमा यस्तो अनुचित निर्णय गरेको भन्दै अहिले उनको आलोचना भइरहेको छ।

राणाले गलत नियत राखेर जग्गा व्यक्तिको नाममा गरिदिने निर्णय गरेको उपमेयर कमरुद्दिन राईले पनि आरोप लगाएका छन्। उनले भने,‘धवलजीको नेतृत्वमा नहुनुपर्ने काम भएको छ। करोडौं मूल्यको सरकारी जग्गा प्रलोभनमा परेर व्यक्तिका नाममा गरिदिनु गलत हो। यसमा मिलेमतो गर्ने सबैलाई कारबाही हुन्छ।’

राईका अनुसार यो मुद्दा अख्तियारमा पनि पुगिसकेको छ। लक्ष्मी चलचित्र मन्दिरदेखि पश्चिमतिर न्यूरोडसँग जोडिएको १ कठ्टा जग्गा गोपालराज शाक्य, घनश्याम बानियाँ, घनश्याम लखेर र सनताम कौरले आफूहरुको भएको दाबी गरेका थिए।

उनीहरूले दाबी गरेकै भरमा मेयर राणा मेयर छँदा उनीहरूबाट जग्गाको कर लिएर प्रमाण पु¥याइ दिन बोर्डबाट निर्णय गराएका थिए। जग्गा दाबी गर्ने व्यक्तिहरू राप्रपा निकटस्थ हुन्। नेपालगञ्जका तत्कालीन मेयर राणा राप्रपाका महामन्त्री हुन्। मेयर छँदा उनी पार्टीका उपाध्यक्ष थिए।

व्यक्तिको नाममा गरिएका यो जग्गामा अहिले पसलहरू सञ्चालनमा छन्। ती पसलहरूको भाडा पनि नगरपालिकाले लिँदै आएको थियो।‘यो जग्गामा पसल सञ्चालन गरिरहेका सञ्चालकबाट नगरपालिकाले भाडा पनि उठाउने गरेको थियो। उनीहरूले बुझाएको भाडाको प्रमाण नगरपालिकासँग सुरक्षित छ।

व्यक्तिको जग्गा भएको भए नगरपालिकाले कसरी त्यहाँ पसल गर्नेहरूबाट भाडा लिन सक्थ्यो,’ उपमहानगरपालिकाका एक पदाधिकारीले भने। उपमहानगरपालिकाले जग्गा आफू मातहतमा ल्याउन प्रक्रिया अगाडि बढाइसकेको छ। आयो मेल


Last Updated on: August 28th, 2022 at 8:24 pm

तपाईको प्रतिक्रिया