शुक्रबार १४ आश्विन २०७९

हेटौंडा : हेटौंडामा कानुन विपरीत बनाइएका संरचना हटाइने भएको छ। काठमाडौंमा कानुन विपरीत बनाइएका संरचना भत्काउने कार्यले निरन्तरता पाइरहेको बेलामा हेटौँडा उपमहानगरपालिकाले पनि कानुन विपरीत बनाइएका संरचना हटाउने भएको हो।

उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासबिना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको मेयर मीना कुमारी लामाले जानकारी दिइन्।

लामाले मुख्य सडकको छेउमा नक्सा पास नभई बनेका सानाठूला टहराहरू पनि ३५ दिने सूचना प्रकाशन गरी हटाउने काम सुरु गरिने बताइन्। उनले अब उपमहानगरले ३५ दिने सूचना प्रकाशन गर्ने र कानुन विपरीत बनाइएका संरचना नहटाइएको पाइएमा उपमहानगरले मेशिन प्रयोग गरी हटाउने बताइन्।

उनका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारबाही हुनेछ।

२५ मिटर सडक चौडा बनाउन अदालतसँग पनि समन्वय गरिसकेको मेयर लामाको भनाई छ। पार्किङका लागि पास गरी घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, भाडामा बस्ने र आउने ग्राहकका लागि सवारीसाधन राख्ने प्रयोजनका लागि पार्किङको व्यवस्थापन नगरेमा कानुनी कारबाही गरिनुका साथै पसललाई हटाउनेसमेत बताइन्।


Last Updated on: August 28th, 2022 at 9:25 pm

तपाईको प्रतिक्रिया