आइतबार १६ आश्विन २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो छपाइका सबै सिक्काहरुमा चुच्चे नक्सा रहेको जानकारी दिएको छ। गत वर्ष मंसिर पुसदेखि बजारमा आएका पछिल्लो छपाइका सिक्काहरुमा चुच्चे नक्सा रहेको राष्ट्र बैंकले बताएको हो।

त्यही समयका केही सिक्काहरु अझै बजारमा आउने क्रममा छन्। ती सबै सिक्काहरुमा नेपालको पछिल्लोपटक सार्वजनिक गरिएको नक्सा नै रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक अमित दाहालले चुच्ने नक्सा नै रहेको जानकारी दिए।

उनले भने, ‘सिक्का आफैँमा सानो हुन्छ, नक्साको चुच्चो पनि सानो आकारको हुने भएकोले झट्ट नदेखिन सक्छ। तर चुच्चे नक्सा नै राखिएको छ। पछिल्लोपटक निकालिएको सिक्कामा चुच्ने नक्सा नै छ। त्यसमा दुविधा छैन।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सिक्काबाट चुच्चे नक्सा हटाइएको आरोप लगाएका थिए। रवीन्द्र मिश्रसँगको आइतबार भएको भेटमा ओलीले चुच्ने नक्सा भएको सिक्का उपहार दिएका थिए।

सोही क्रममा उनले पछिल्लो समय चुच्ने नक्सा नराखिएको आरोप लगाएका थिए। पूर्वप्रधानमन्त्री ओलीले चुुच्चे नक्सा अंकित सिक्का अहिले राष्ट्र बैंकले छाप्न छाडेको पनि बताउने गरेका छन्। देउवा नेतृत्वको सरकारले राष्ट्र बैंकलाई दबाब दिएर चुच्चे नक्सा अंकित नक्सा छाप्न रोक लगाएको ओलीको आरोप छ।


Last Updated on: August 29th, 2022 at 6:40 pm

तपाईको प्रतिक्रिया