Monday, August 15

श्रीलंकापछि इराकको संसद भवन छिरे प्रदर्शनकारी : नाचगान गर्दै टेबलमा सुते

July 28, 2022

काठमाडौं ।

विश्वका अस्थिर राजनीति भएका देशहरुमा नागरिकहरु सचेत भएको देख्न थालिएको छ ।

राजनीतिक दलहरुको रजाईं अन्त्यका लागि नागरिकहरुले स्वतन्त्र प्रर्दशन गरिरहेका छन् ।

नागरिक अवज्ञाकै कारण त्यहाँका सत्ता पक्षहरु घुँडा टेक्न बाध्य छन् ।

दक्षिण एसियाली मुलुक श्रीलंकामा चरम आर्थिक संकटमा देशलाई पुर्याएपछि नागरिकले राष्ट्रपति, प्रधानमन्त्रीका कार्यालयदेखि संसद भवन नै कब्जामा लिएर सत्ता उलटफेर ल्याए ।

अहिले इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् । धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ । प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल(खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन् ।

भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेका थिए । त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन । एजेन्सी

Comment