
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अवैध संरचना भत्काउने कामलाई धेरैले समर्थन गरिरहेका छन् । यसबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले पनि बालेनको खुलेरै समर्थन गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले बर्षौदेखि राजनीतिक आडमा भु–माफिया र व्यापरीद्वारा अबैध कब्जा गरिएका सरकारी र सार्वजनिक जग्गाहरु धमाधम खाली गरिरहेको देख्दा खु:शी महसुस भएको बताउनुभयो ।
तपाईंलाई जानकारी गराउ ३५ दिने सूचना पश्चात काठमाडौं महानगरले ती संरचना भत्काउने वा खाली गर्ने गरेको छ, यस अभियानको नेतृत्व स्वंयम मेयर शाहले गर्दै आउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘यत्तिका बर्षसम्म राजनीतिक साँठगाँठ,मिलेमतो र लेनदेनमा चलिरहेको गोरखधन्दा एक्कसी आँधीहुरी आए जसरी तहसनहस हुँदा दलाल र भ्रष्टाचारिहरुको निँद उड्नु र छट्पटाउनु स्वभाविकै हो तर यसबाट कत्तिपनि विचलित नभई निरन्तर अगाडी बढनु हुन्छ भन्नेमा मलाइ अलिकति पनि शंका छैन ।’
उहाँले अवैध संरचना भत्काउने क्रममा साना व्यापारीलाई क्षतिपुर्ति दिन सके सुनमा सुगन्ध हुने विश्वास व्यक्त गर्नुभएको छ । नेतृ पोखरेल थप्दै लेख्नुहुन्छ, ‘मेयर बालेनको कार्यकालमा नै यो शहरको सौन्दर्य र रौनक फेरि फर्किने छ भन्ने विश्वास लिएकी छु, यस कार्यमा म काठमाडौंबासीको नाताले मेरो व्यक्तिगत तर्फबाट पुर्ण समर्थन गर्छु ।’
युवा जागे देश जाग्छ भन्दै उहाँले भन्नु भएको छ, ‘हाम्रो विचार र परिवेश फरक फरक भएपनि उद्देश्य एउटै हो, त्यो भनेको यो देशलाई समृद्धिको पथमा अगाडी बढाउने । त्यसैले म यो देशका सम्पुर्ण युवा साथीहरूलाई आह्वान गर्न चाहन्छु,आउनुहोस् हामी सबै हातेमालो गरेर अगाडी बढौं । धन्यवाद’