Monday, August 15

सरकारी विद्यालयमा पढेका प्रशान्तले ल्याए एसईईमा ४ जिपिए

July 28, 2022

चितवन।

चितवनको भरतपुरस्थित नारायणी नमूना माविका विद्यार्थी प्रशान्त अधिकारीले आज बुधबार प्रकाशित एसईई परीक्षाको नतिजामा चार जिपिए ल्याएका छन् ।

गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेका हुन् ।

विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले ४ जिपिए कुनै विद्यार्थीले नल्याएको दाबी गर्दै अधिकारी नै नेपाल प्रथम भएको बताउनुभयो । उनले प्रत्येक बिषयमा ए प्लस (चार जिपिए) ल्याएका छन् ।

अधिकारी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको र उनी सधैं उत्कृष्ट हुने गरेको प्राचार्य दवाडीले बताउनुभयो । चार जिपिए अंक ल्याएका विद्यार्थी अधिकारीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

नारायणी नमूना मावि देशकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचित छ ।भरतपुर महानगरपालिका-१० मा रहेको विद्यालयले विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि उत्कृष्ट नतिजा ल्याएको हो।

यस बर्ष विद्यालयबाट ३८२ जनाले एसईई दिएका मध्य ९३ जनाले ‘ए’ प्लस, १०९ जनाले ‘ए’, ८४ जनाले ‘बी’ प्लस, ५० जनाले’प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् ।

त्यो भन्दा कम जिपिए कुनैपनि विद्यार्थीले ल्याएका छैनन् । यस बर्ष विगतका बर्षहरुमा भन्दापनि राम्रो नतिजा आएको स्कूलका प्राचार्य पूर्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, शिक्षक, कर्मचारीको लगनशिलता, विद्यार्थीको मेहनत, अभिभावकहरुको सहयोगका कारण विद्यालयले उत्कृट नतिजा हाँसिल गर्न सफल भएको हो ।’

उहाँले नारायणी नमूना माविको नतिजा नेपालकै सामुदायीक विद्यालयमा उत्कृष्ट भएको बताउनुभयो ।यस बर्ष विद्यालयले कक्षा ४ देखि ९ सम्मको भर्ना आवेदन खोल्दा २२ सय विद्यार्थीले अध्ययनका लागि प्रवेश परीक्षा दिएको थिए ।

यो विद्यालयमा अध्ययनका लागि अन्य सामुदायीक विद्यालयसंगै बोडिङ स्कूलका विद्यार्थीपनि आर्कर्षित हुने गरेका छन् ।

Comment