Wednesday, August 10

चोक-चोकमा बसेर ‘पठाओ’ भन्ने राइडरसँग सावधान

July 28, 2022

काठमाडौँ ।

आइतबार बेलुका सम्झना राईले पठाओ बुक गरिन् । पाँचथरको मिक्लाजुङ्ग-५ घर भएकी राई लामो समयदेखि काठमाडौँ बस्दै आइरहेकी थिइन् । उनी चढेको पठाओ मोटरसाइकल कोटेश्वरमा दुर्घटनामा पर्‍यो ।

दुर्घटनामा पछाडि सवार राईको उपचारको क्रममा राति नै निधन भयो। दुर्घटनामा ज्यान गुमाएकी राईले राइड शेयरिङ प्लेटफर्म पठाओ बाट अफलाइन यात्रा गरेको खुलेको छ । ‘पठाओ मा राईको नम्बरबाट रिक्वेस्ट पठाएको र यात्रा सुरु हुनुअघि राईले नै राइड क्यान्सिल गरेको देखिएको छ,’ पठाओकी प्रवक्ता सुरक्षा हमालले भनिन् ।

गत माघ ८ गते पठाओ राइडर २५ वर्षीय प्रवीण राई अपहरणमा परे । उनलाई कोटेश्वरबाट धापाखेल छाडिदिन आग्रह गरेका यात्रुले नै गन्तव्यमा पुगेपछि एक साथीको सहयोगमा लुटपाट गरी मुखमा बाक्लो टेप लगाएर हातखुट्टा बाँध्दै राइडर राईको बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लिएर भागे ।

प्रवीणले अफलाइन राइड गरेको हुनाले उनले तत्काल सहयोग पाउन सकेनन् ।पठाओ अनलाइन राइड सेयरिङ प्लेटफर्म हो । पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुकिङ गर्न आवश्यक हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुवैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुन्छ ।

पठाओले चालक र यात्रु दुवै यात्रामा रहुन्जेलसम्म अनलाइन हुन बारम्बार आग्रह गर्दै आइरहेको छ । अफलाइन हुँदा दुर्घटना परेको अवस्थामा बिमा दाबी गर्न नपाइने, यात्रा सुरक्षित नहुने, अपहरण वा लुटपाटमा पर्न सकिने अवस्था आउन सक्छ ।

राइडको रिक्वेस्ट गर्दा मात्रै होइन यात्रा अवधिभर अनलाइन हुँदाका धेरै फाइदा छन् । मानौँ तपाई बानेश्वरबाट नयाँ बसपार्क जाँदै हुनुहुन्छ । नयाँ बसपार्कमा कुरिरहेको तपाईँको साथीलाई आफूले एपबाट म्याप शेयर गरिदिनु भयो भने उक्त साथीले तपाई कहाँ आइपुग्नु भयो भनेर हेर्न सक्छ ।

अनलाइन राइडमा सबै विवरण सिस्टम अपडेट हुन्छ । जसका कारण यात्रु र राइडर सजग हुन्छन् । यसले यात्रा सुरक्षित र सुनिश्चित बनाउँछ

अफलाइन राइडमा दुर्घटना बिमा नपाइने

अफलाइन राइड गरेकी सम्झना राईको परिवारले पठाओ बीमाबापत पाउने १० लाख रुपैयाँ गुमाउनु परेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग चालक र यात्रुको बिमा गरेको छ ।

पठा‌ओ सवारीसाधन दुर्घटनामा परेको खण्डमा त्यसमा सवार चालक र यात्रुले बिमा बापत (निधनको हकमा रु १० लाख) रकम पाउँछन् तर बीमाको रकम पाउनको लागि पठा‌ओ राइडरले अनलाइन राइड गरेको हुनुपर्छ ।

पठा‌ओ नेपालकी प्रवक्ता हमालले दिएको जानकारी अनुसार बिमा पाउनको लागि जुन व्यक्तिको नाममा पठाओ रजिष्टर गरिएको छ उही व्यक्ती नै सवार हुनुपर्छ र आफ्नो नागरिकता अनुसारको नामथर नै पठा‌ओमा रजिष्टर गरेको हुनुपर्छ । अर्को व्यक्तिको नामबाट बुक भएको अवस्थामा चढ्दा दुर्घटना भएको खण्डमा बिमा दाबी गर्न पाइँदैन ।

उदाहरणको लागि झापा जिल्लाबाट आफन्त भेट्न राजधानी आएका ‘रामबहादुर’ नाम गरेका व्यक्तिलाई काठमाडौँमा बस्ने उनका आफन्तले पठाओ बुक गरेर जावलाखेल चिडियाखाना घुम्न पठाए । दुभाग्यवस उक्त पठाओ दुर्घटनामा परेर रामबहादुरको निधन भयो ।

रामबहादुर पठाओ मा रजिष्टर्ड नभएको र आफन्तले राइड रिक्वेष्ट गरेको हुनाले दुर्घटनाबापत पठाओले उपलब्ध गराउने बिमा सुविधाबाट उनी वञ्चित हुनुपर्‍यो ।

त्यसैले अर्काको नाममा रजिष्टर्ड भएको एप्सबाट बुक गरेर पठाओ मा यात्रा नगर्न पनि कम्पनीले आग्रह गरेको छ । गुगल प्लेस्टोर वा एपस्टोरबाट पठाओ एप डाउनलोड गरेर आफ्नो सही विवरण राख्नेको खण्डमा भविष्य कुनै अप्ठ्यारो पर्दा यात्रुलाई सहज हुन्छ ।

दुर्घटना बीमाकै कुरा गर्दा नेपाल सरकारले प्रत्येक सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य गरेको छ ।दुई पाङ्ग्रे सवारी साधनको हकमा उक्त साधनमा यात्रा गरेका चालक र यात्रु दुवैको बढीमा पाँच लाख सम्मको दुर्घटना बिमा तेस्रो पक्ष बीमानै समावेश गरिएको “मोटर बीमादर सम्बन्धी निर्देशिका-२०७४” को दफा ५.५ मा उल्लेख छ ।

किन बढ्दै छ अफलाइन राइड

पठाओ राइडरबाट कम्पनीले केही प्रतिशत कमिसन लिन्छ । विश्वभर चलेका राइड शेयरिङ प्लेटफर्महरूले २५ देखी ४० प्रतिशत सम्म कमिसन लिन्छन् ।

यसको तुलनामा पठाओले लिँदै आएको २० प्रतिशत कमिसन सामान्य हो । त्यही कमिसनबाट नै उसले यात्रु र चालकको लागि १० लाख रुपैयाँको बिमा समेत गरेको छ ।

नेपालमा सञ्चालनमा रहेका राइड शेयरिङ प्लेटफर्म मध्येमा सबैभन्दा ठुलो रकमको बिमा गर्ने कम्पनी हो पठाओ। नेपाल सरकारले अनिवार्य गरेको बिमा रकम भन्दा पठाओको बीमा रकम दुई गुणाले बढी छ ।

कुनै राइडबाट १०० रुपैयाँ उठ्दा ८० रुपैयाँ चालकको र २० रुपैयाँ कम्पनीको हुन्छ । त्यही २० प्रतिशत कमिसनको लोभमा राइडरहरूले अफलाइन राइड गर्ने गरेका छन् । क्षणिक लोभमा अफलाइन राइड गर्दा यात्रु र चालक दुवैले ठुलो क्षति व्योहोर्नु परेको छ ।

चालक मात्र नभएर यात्रुहरू पनि सचेत हुन पठाओले बारम्बार अनुरोध गर्दै आइरहेको छ । अर्को सातादेखि ‘पठाओ सुरक्षा कबच’ अभियान सुरु हुन लागेको प्रवक्ता हमालले बताइन् ।

‘राइडर र यात्रुले आफ्नो सुरक्षाका लागि के-के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सजग गराउन हामीले अभियान नै सञ्चालन गर्न लागेका छौँ,’ उनले भनिन् ।

Comment