बुधबार १९ आश्विन २०७९

वीरगञ्जका अधिकांस सहकारीमा नगद सकिएको छ । पैसा निकाल्न सहकारीका काउण्टर पुगेका बचतकर्ताहरु रित्तै हात फर्कनु परेको छ ।केही सहकारीले दैनिक सीमा तोकेर पैसा दिइरहेको भए पनि यहाँका धेरै जसो सहकारीले बचतकर्तालाई रित्तै फर्काइरहेका हुन् ।

वीरगञ्जको नाम चलेका सानोपाइला, श्रीनिधी, गणेश लगायतले दैनिक १० हजारसम्म पैसा निकाल्ने सीमा तोकेर बचतकर्ताहरुलाई दिइरहेको भए पनि धेरै जसो सहकारीले बचतकर्तालाई पैसा दिन सकिरहेको छैन ।वीरगञ्जको गहवामा रहेको प्रतिक बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई रित्तै हात फर्काइरहेको बचतकर्ताहरु बताउँछन् ।

आफूले जम्मा गरेको रकम पनि नदिँदा सहकारी भाग्ने हो कि भन्ने त्रास उत्पन्न भएको एक बचतकर्ताले बताए ।गएको २ सातादेखि आफू दैनिक पैसा निकाल्नका लागि धाइरहेको भए पनि उक्त सहकारीले पैसा नभएको भन्दै फिर्ता पठाउने गरेको ती बचतकर्ताको भनाई छ ।

वीरगञ्जका सहकारी संस्थाहरु पछिल्लो समय गहीरो संकटमा परेको देखिएको छ । कुनै पनि सहकारी लगानी गर्ने अवस्थामा छैनन् । आफ्ना सदस्यहरु तथा पैसा राख्नेहरुलाई राखेको पैसा समेत दिन नसक्ने गम्भीर संकटमा उनीहरु पुगेका छन् ।

अहिले वीरगञ्जका सहकारीमा पैसा राख्न पुग्नेहरु देखिन छाडेको छ । तर रकम झिक्नेहरुको भने भीड हरेक सहकारीमा देखिन्छ ।देशभरका सहकारीमा मान्छेहरु एकसाथ पैसा निकाल्न आएपछि कुनै पनि सहकारीले बचतकर्ताको मागअनुसार रकम दिन सकेका छैनन् ।

अधिकांस सहकारीका सञ्चालक तथा बोर्ड सदस्यहरुले आफूखुसी लगानी गर्दा अहिले जोखिम उत्पन्न भएको विज्ञहरु बताउँछन् ।धेरै जसोले घरजग्गामा लगानी गरे, केहीले बैंकबाट ऋण लिएर सहकारी चलाइरहेका थिए । घरजग्गाको कारोबार सुस्ताउनु र बैंकको ऋण पनि सहजै पाउन मुस्किल भए पछि सहकारीहरुमा पैसा सकिन पुगेको हो ।

काठमाण्डौको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार भन्दा बढी बचतकर्ताको रकम लिएर भागेपछि यसले देशभर समस्या निम्त्यायो । त्यसपछि बराह बचत तथा ऋण सहकारी पनि बचतकर्ताको रकम फिर्ता गर्न असमर्थ भए पछि यसले देशैभर सहकारीमा समस्या रहेको देखायो ।

भदौको सुरुवातमा नै वीरगञ्जको छपकैयाँमा सञ्चालित मानव समाज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको १ करोड भन्दा बढी बचत रकम लिएर फरार भए पछि वीरगञ्जमा पनि यसको आगो सल्कियो ।

सहकारीमा बचत गर्नु जोखिम रहेको भन्दै वीरगञ्जमा पनि सहकारीबाट पैसा निकाल्नेहरुको भिड बढ्न पुग्यो ।


Last Updated on: August 30th, 2022 at 12:36 pm

तपाईको प्रतिक्रिया