
काठमाडौं । आफूले दिने बयानका कारण विवादमा पर्दै आउनु भएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को राजीनामा माग गरिएको छ ।
उहाँले इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण अभिव्यक्ति दिएको भन्दै पुर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानका विद्यार्थीहरुले राजीनामा मागेका हुन् ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस ईकाई कमिटीका अध्यक्ष आभाष अधिकारीले विज्ञप्ती जारी गर्दै मेयर साम्पाङले राजीनामा दिनुपर्ने माग गर्नुभएको हो ।
मेयर साम्पाङले आफुबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा इञ्जिनियरको क्षमता र पेशामा आवद्ध, अध्ययनमा उर्जाका साथ समर्पित सम्पुर्ण इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण टिप्पणी गरेको उहाँको बुझाई छ ।
एक युट्यब च्यानलाई दिएको अन्तरवार्तामा मेयर राईले काठमाडौं महानगरका मेयर बालेन शाहको मजाक उडाउनु भएको थियो । इञ्जिनियरले हाँक्न नसक्ने भएकोले आफ्नो पढाई अनुसारको काम गर्नुपर्ने अभिव्यक्ति राईको थियो ।
निती निर्माणमा बालेन भन्दा आफू धेरै अगाडि भएको पनि उहाँले दाबी गर्नुभएको थियो । साम्पाङको सोही अभिव्यक्तिविरुद्ध इञ्जिनियरिङका विद्यार्थीहरुले विरोध गर्दै राजीनामा मागेका हुन् ।
विश्वका अनेकौं देशमा राष्ट्राध्यक्षदेखि उच्च पदमा रहेर इञ्जिनियरहरुले नीति निर्माण र नेतृत्व कुशलता सफलतापुर्वक प्रस्तुत गरिसकेको अवस्थामा मेयर राईले दिएको बयान गैरजिम्मेवार भएको कुरा विज्ञप्तिमा खुलाइएको छ । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा इञ्जिनियर अरबिन्द केजरीवालले विकासमा फड्को मारिरहेको कुरा पनि भनिएको छ ।
मेयर साम्पाङले इञ्जिनियरमाथि गरेको तुच्छ शब्दले विवेकशिलता, कुटनैतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न गरियो । गैरजिम्मेवार नेतृत्वले गर्दा धरानको भविष्य अन्धकारमा पुग्न लागेको भन्दै जनताले दिएको मतको अपमान गर्न खोजेको कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।
राईले सानो सोच राखेर अराजकता फैलाउन खोजेको आरोप समेत लगाइयो । मेयर राईले राजीनामा नदिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि सो संगठनले दिएको छ ।