मंगलबार १८ आश्विन २०७९

सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् ।नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ ।

माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ ।भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको हो ।

माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भनिएको छ ।

भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बालेन, रवि लामिछाने, रविन्द्र मिश्र र रमेश खरेलको नाममा नेपालमा अन्तर्राष्ट्रिय मिसन परिचालित रहेको आरोप लगाएका थिए । ‘कसैलाई लहड छल्यो भन्दैमा डोजर ल्याएर ड्याङ कि ड्याङ भत्काउन पाइँदैन ।

रवि लामिछानेका नाममा, बालेनका नाममा, रविन्द्र मिश्रको नाममा, रमेश खरेलको नाममा विभिन्न अन्तर्राष्ट्रिय मिसनहरू परिचालित छन्’ सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बस्नेतले भनेका छन, ‘नेताहरूलाई कुकुरको माला लाइदिएका छन्, कुकुरको टाउको जोडेका छन् ।

त्योभन्दा तीन गुणा गाली गरेर लेख्नुस् । त्यो गरेबापत केही भयो भने हामी तपाईंको संरक्षण गर्छौं ।’ बस्नेतले अन्तराष्ट्रिय मिसनबाट परिचालितहरूले पार्टी र सिष्टम नै भत्काउन खोजेको आरोप लगाए । ‘सकभर मुखले सम्झाउनुस्, मानेनन् भने हात–गोडा के–के ले सम्झाउने हो,

सम्झाउनुस, परेको कुरा पार्टीले ब्यहोर्छ, हामी व्यहोर्दैछौँ’, उनले अगाडि भनेका छन्, ‘सिष्टम भत्काउन चाहन्छन्, पार्टी भत्काउन चाहन्छन्, यी तत्वलाई बेलैमा तह लगाउन सकेनौँ भने अहिले आगो अलिकति बल्दा स्याउँलाले निभ्छ । भोलि ह्वार–ह्वारती बल्दा सकिँदैन ।’

नेकपा एमालेका सांसद समेत रहेका बस्नेतको सो अभिव्यक्तिलाई लिए सामाजिक सञ्जालमा चर्को आलोचना र बहस भइरहेको छ ।


Last Updated on: August 30th, 2022 at 3:56 pm

तपाईको प्रतिक्रिया