शुक्रबार १४ आश्विन २०७९

अहिले सामाजिक संजालमा नेकपा एमालेका उग्र नेता महेश बस्नेत कुटिएको भन्दै एउटा भिडियो भाइरल भएको छ । भिडियोमा दाबी गरे अनुसार बालेन शाह र रबि लामिछानेको उग्र रुपमा बिरोध गर्दै आएका बस्नेतलाई वाइसिएल् नेपालले कुटपिट गरेको भनिएको छ ।

तर भिडियोमा दाबी गरे अनुसार नेता बस्नेतले कुटाइ खाएको भने हैन । उक्त भिडियो स्थानीय चुनाब अघि चैतारा नगरपालिकाको हो । स्थानीय चुनावमा निवर्तमान मेयर कमान सिंह तामाङले टिकट नपाए पछि टिकट पाउने कृष्ण प्रसाद सापकोटा(सभामुख अग्नि सापकोटाका भाइ)को विरुद्धमा माओवादीकै कार्यकार्ताले आक्रमणको प्रयास गरेका थिए ।

उक्त भिडियोमा नगरपालिकाको गेट समेत प्रस्ट देखिन्छ । तामाङले माओवादीमा परिवारवाद हावी भएको भन्दै केही दिन अघिमात्र एमाले प्रवेश गरेका थिए ।अहिले त्यहि भिडियो नेता महेश बस्नेतले कुटाइ खाएको भन्दै भाइरल बनाइएको छ ।

उता सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् ।नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ ।

माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ । यता भक्तपुर वाइसिएल् संयोजक नरेश रंजितले पनि उक्त भिडियोमा महेश बस्नेतमाथि कुनै आक्रमण नभएको बताएका छन् ।

भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बालेन, रवि लामिछाने, रविन्द्र मिश्र र रमेश खरेलको नाममा नेपालमा अन्तर्राष्ट्रिय मिसन परिचालित रहेको आरोप लगाएका थिए । ‘कसैलाई लहड छल्यो भन्दैमा डोजर ल्याएर ड्याङ कि ड्याङ भत्काउन पाइँदैन ।

रवि लामिछानेका नाममा, बालेनका नाममा, रविन्द्र मिश्रको नाममा, रमेश खरेलको नाममा विभिन्न अन्तर्राष्ट्रिय मिसनहरू परिचालित छन्’ सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बस्नेतले भनेका छन, ‘नेताहरूलाई कुकुरको माला लाइदिएका छन्, कुकुरको टाउको जोडेका छन् ।

त्योभन्दा तीन गुणा गाली गरेर लेख्नुस् । त्यो गरेबापत केही भयो भने हामी तपाईंको संरक्षण गर्छौं ।’ बस्नेतले अन्तराष्ट्रिय मिसनबाट परिचालितहरूले पार्टी र सिष्टम नै भत्काउन खोजेको आरोप लगाए । ‘सकभर मुखले सम्झाउनुस्, मानेनन् भने हात–गोडा के–के ले सम्झाउने हो,

सम्झाउनुस, परेको कुरा पार्टीले ब्यहोर्छ, हामी व्यहोर्दैछौँ’, उनले अगाडि भनेका छन्, ‘सिष्टम भत्काउन चाहन्छन्, पार्टी भत्काउन चाहन्छन्, यी तत्वलाई बेलैमा तह लगाउन सकेनौँ भने अहिले आगो अलिकति बल्दा स्याउँलाले निभ्छ । भोलि ह्वार–ह्वारती बल्दा सकिँदैन ।’

नेकपा एमालेका सांसद समेत रहेका बस्नेतको सो अभिव्यक्तिलाई लिए सामाजिक सञ्जालमा चर्को आलोचना र बहस भइरहेको छ ।


Last Updated on: August 30th, 2022 at 4:17 pm

तपाईको प्रतिक्रिया