१२ बर्षीया बालिकालाई फकाइफुल्याई खरबारीमा लगेर बलात्कार गर्ने नेपाली सेनाका भगौडा पक्राउ – Gandaki Chhadke
Friday, August 12

१२ बर्षीया बालिकालाई फकाइफुल्याई खरबारीमा लगेर बलात्कार गर्ने नेपाली सेनाका भगौडा पक्राउ

July 28, 2022

गुल्मी ।

गुल्मीमा १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका ४ दोहली कुबिन्देका ३७ बर्षीय भुपाल अधिकारीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।

‘अमरपुरबाट फूपुको घरमा गएकी ती बालिकालाई अभियुक्तले फकाइफुल्याई मंगलबार बेलुका ७ बजे घुम्न जाउँ भन्दै लगको र पाँच सय रुपैयाँ दिई खरबारीमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ,’ डीएसपी खरेलले भने ।

बलात्कारपछि फरार आरोपित अधिकारीलाई खोजतलासपछि पक्राउ गरिएको खरेलले बताए ।दुई विवाहसमेत गरेका अधिकारी नेपाली सेनाका भगौडा हुन् ।

गत आर्थिक बर्षमा १६ बलात्कार, एक बलात्कार प्रयास, एक बालबालिका बिरुद्धको कसुर एक र दुई बालयौन दुरुपयोगका मुद्धा जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता थिए ।

त्यस्तै आर्थिक बर्ष ०७७/०७८ मा १६ बलात्कार, पाँच बलात्कार प्रयास र तीन यौन दुव्र्यबहारका मुद्धा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए ।

त्यस्तै आर्थिक बर्ष ०७६/०७७ मा १३ बलात्कार, दुई बलात्कार प्रयास र दुई यौन दुव्र्यबहारका मुद्धा प्रहरीमा दर्ता भएको खरेलले बताए ।

Comment