आइतबार १६ आश्विन २०७९

अमेरिका । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव भएको छ । अत्यधिक वर्षा र बाढीका कारण भरपर्दो दैनिक पिउने पानीकाे पहुँचबाट उनीहरू अनिश्चित रूपमा टाढिएका छन् ।

गत सप्ताहान्तमा आएकाे बाढीको कारण सहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो । पानी अभाव भएपछि मिसिसिपी राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । केही समयका लागि विद्यालय, रेस्टुरेन्ट र व्यापार व्यवसायहरू बन्द गरिएका छन् ।

तर, स्थानीय बासिन्दाहरूलाई प्रशोधन नगरिएको पानी पाइपमार्फत आपूर्ति गरिएको जानकारी दिइएको छ । नगर र राज्य दुवैले जनतालाई पिउनका लागि बोटलको र ट्याङ्करमार्फत पानी उपलब्ध गराइरहेका छन् ।

ज्याक्सनका बासिन्दालाई पानी उमालेर मात्रै पिउन पनि सल्लाह दिइएको छ । पर्ल नदीको बाढीको पानी उर्लेर सडकसम्म पुग्न थालेपछि पानी प्रशोधन केन्द्र प्रभावित भएको थियो ।

सो केन्द्रले दैनिक रूपमा १९ करोड लिटर पानी प्रशोधन गर्दै आएको थियो । विज्ञहरूले जलवायु परिवर्तन समस्याका कारण ज्याक्सनमा अति वर्षा जस्ता घटना हुन थालेको बताउँछन् । बीबीसीबाट ।


Last Updated on: August 30th, 2022 at 11:47 pm

तपाईको प्रतिक्रिया