मंगलबार १८ आश्विन २०७९

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन् ।

उनले भने– ‘हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं । संवाद त सबैसँग हुन्छ । तर फलानो पार्टी सँगै गर्छौं भन्ने निष्कर्षमा पुगिसकेका छैनौं

कार्यकर्ता पंक्ति र जनताको साथल सहयोग र समर्थनले नै एमालेले बहुमत ल्याउने उनको दाबी छ । विष्टले भने, “हामीले सरकारमा रहँदा आधारभूत जनताको उत्थानका निम्ति पर्याप्त काम गरेका छौं । त्यो जनताले महसुस गरेका छन् । गठबन्धनलाई पराजित गर्ने या अस्वीकार गर्ने ताकत जनतासँग छ ।

हतारमा तालमेल र एकता भएकाले नेकपा टिकाउ नभएको पनि उनले बताए । विष्टले थपे, २०७४ मा एमालेलाई एकल बहुमत मिलेको थिएन । अहिलेसम्म नेकपा एमालेले बहुमत पाएको छैन । माओवादीसँग हतारमा तालमेल र एकता गरिएको थियो ।

माओवादी अलग हुनासाथ हामी अल्पमतमा पर्यौं । मलाई लाग्छ, त्यो एकता वामपन्थी आन्दोलनलाई कमजोर बनाउने हिसाबले भएको पनि हुन सक्छ ।केपी शर्मा ओली देशकै सबैभन्दा लोकप्रिय नेता भएकाले पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेको पनि नेता विष्टको दाबी छ ।

उनले भने, “पार्टीको अध्यक्ष कमान्डर हो । केपी शर्मा ओली मुलुकको सबैभन्दा लोकप्रिय नेता पनि हो । त्यसैले भावी प्रधानमन्त्रीका रुपमा उहाँलाई पार्टीले अघि सारेको हो । ओली नेतृत्वको सरकारले नेपालको हितमा थुप्रै काम गरेको पनि छ । मानिस उमेरले युवा वा बूढो हुँदैन ।

मुख्य कुरा जनताका निम्ति कसले गर्न काम सक्छ भन्ने कुरामा आधारमा पार्टीले निर्णय गरेको हो ।तपाईंको निर्वाचन क्षेत्रमा त तपाईंकै पार्टीबाट निस्कनुभएकी रामकुमारी झाँक्री उठ्ने हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “गुल्मी–२ मेरो निर्वाचन क्षेत्र हो । अहिले पनि म त्यहाँकै बहालवाला सांसद हुँ ।

निर्वाचन आउँदै छ । कसैले उम्मेदवारी घोषणा गर्नुभएको हाला, कसैको बाँकी होला, नेपालको कानुनले योग्यता पुगेका सबैलाई निर्वाचनमा उठ्ने अधिकार दिएको छ । त्यसमा मेरो कुनै प्रतिक्रिया छैन । निर्वाचनमा को(को आउनुहुन्छ, को(को आउनुहुन्न, पछि नै निर्क्यौल होला ।


Last Updated on: August 31st, 2022 at 10:53 am

तपाईको प्रतिक्रिया