Monday, August 15

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै, सपथको तयारी

July 28, 2022

काठमाडौँ ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् ।श्रोतका अनुसार शर्माले शुक्रबार वा आइतबारसम्म मन्त्रीका रुपमा सपथ लिनेछन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर राजश्व र करका दर हेरफेर गराएको तथा त्यससम्बन्धी प्रमाण नष्ट गर्न सिसीटीभी फुटेज डिलिट गरेको आरोप लागेपछि शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिले शर्मासहित मन्त्रालयका दुई सचिव तथा बजेट निर्माणमा सहभागी कर्मचारीसँग बयान लिइसकेको छ । यस्तै डिलिटि गरेको भनिएको सिसीटीभी फुटेज पनि प्रहरीको विधि विधान प्रयोगशालाबाट रिकभर गरिएको छ ।

फुटेजमा संसदमा बेजट प्रस्तुत गर्नुअघिल्लो दिन १४ जेठको राति मन्त्रालयमा केही मानिसको आउजाउ भएको देखिए पनि दृष्ट स्पष्ट नभएपछि समितिले बिचौलिया आएको ठोकुवा गर्न सक्ने आधार कमजोर देखिएको । समितिको एक साता थपिएको अवधि आज सकिँदै छ ।

आजै साँझसम्म समितिले आरोप लगाइएजस्तो बजेट निर्माणमा बिचौलिया प्रवेश नभएको प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिमा रहेका एमाले सांसदले भने बहुमतको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ जनाउने सम्भावना छ । २२ असारमा समिति गठन भएको दिन शर्माले राजीनामा दिएका थिए ।

उनले समिति गठनअघि र पछि पनि अनधिकृत व्यक्तिले बजेट बनाएको आरोप अस्वीकार गर्दै आएका छन् । शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले आफैंसँग राखेका छन् ।

Comment