झरेपनि शहर, गाउँकै खाने रहर – Gandaki Chhadke
Friday, August 12

झरेपनि शहर, गाउँकै खाने रहर

July 28, 2022

काठमाडौँ ।

धनी र गरिव दुवै समुदाय जुन परिस्थितीले पुख्यौली थातथलो छोडेर सहर झरेपनि गाउँमा रहँदा खाएको परम्परागत खानाको ‘टिपिकल’ स्वाद विर्सेको छैन ।

सहरको स्वादमा पुरै भिज्न नसकेका र गाउँले अर्गानिक उत्पादनको स्वाद नविर्सेका उपभोक्तालाई लक्षित गरी गाउँ–गाउँमा स्थानीय कृषी उत्पादनका वस्तु राखेर ‘लोकल मार्ट’, ‘कोसेली घर’, ‘सौगात घर’ नाम राखेर स्थानीय खाद्य, तरकारी तथा जैविक सामाग्री राखेर पसल खोल्न थालिएको छ ।

कारखानामा उत्पादित खाद्य सामाग्रीको सजिलो ब्यापारको गाउँघरका कृषकले उत्पादन गरेको सानो–सानो परिणाम अग्यानिक कृषी उत्पादनलाई जुटाएर वेच्ने पसल बनेका छन, ‘कोसेली घर’ ।

चन्द्र धरातलको झल्को दिने मुस्ताङ र हिन्दु/वौद्ध धर्मालम्बीको साझा तिर्थस्थल मुक्तिनाथ घुम्न आएका हजारौं आन्तरिक पर्यटक बेनीमा बास बस्न आउँछन । उनीहरु वास मात्र बस्दैनन, वाईसेचौविसे राज्यकालको पर्वत राज्यको राजधानी रहेको एतिहाँसिक सहर बेनी घुम्छन ।

क्यामेरामा, आँखा र मनमा सजाएर फर्कनु अघि स्वादका पारखीहरु ‘कोसेली’ किन्छन, म्याग्दीका गाउँमा फलेका अर्गानिक र जैविक खाद्यन्न ।‘घुमन्ते पाहुना पूर्वको होस वा पश्चिमको ।

जुन सुकै जात र स्वादमा हुर्केको नै किन नहोस, यदी उ स्वादको पारखी छ भने घुम्न गएको ठाउँमा केही न केही रैथाने उत्पादन किन्छ, किन्छ’ बेनी स्थित बेनी कोसेली घरकी संञ्चालिका कमला पौडेलले भनिन, ‘स्थानीय उत्पादनका सामाग्री विभिन्न गाउँका फरक–फरक कृषकबाट संकलन गर्नु पर्ने भएकोले आमा समुह वा विचौलिया मार्फत अग्रिम लगानी गर्नु पर्छ ।’

संसारको जुनसुकै स्थानमा पुगेपनि मान्छे आफ्ना बाबुबाजे मात्र होईन पुख्यौली थालोमा छोडेर गएका देवता (कुल पुजा, भुमेपुजा, वराह पुजा आदी) भेट्न गाउँ फर्केका पाहुनाहरु गाउँमा खुलेका कोसेली घरका असली ग्राहक हुन ।

त्यसबाहेक मुस्ताङ, ढोरपाटन र जिल्लाका उपल्लो भेगका पर्यटकीय क्षेत्रमा डुल्न आएका देशभित्रका आन्तरिक पर्यटकहरु पनि रैथाने उत्पादनका अर्का ग्राहक हुन । भनिन्छ, खाना पहिले कान्ले त्यसपछि आँखाले खान्छ अनि अन्त्यमा मुखले खान्छ ।

कुनै खानेकुरा बारे सुनिएपछि मनमा त्यसको महत्व र मुल्य बोकेर टाढा टाढासम्म धाएरै पनि खान पुग्छ, मान्छे । यीनै अर्गानीक खानाका पारखी अर्को ठाउँमा डुलघुम गर्न जाँदा त्यस क्षेत्रमा पाईने रैथाने र अर्गानिक खाद्यान्न, तरकारी र जैविक खाद्यान्न महंगो मुल्य तिरेरै किन्न आतुर हुन्छ ।यस्ता कोसेली घर सदरमुकाम बेनीमा मात्र ६ वटा छन । पश्चिम मालिका गाउँपालिका केन्द्र रहेको दरवाङमा एउटा छ ।

यस्ता कोसेली घरहरुमा मार्सी, गौरिया, गुडुरा, जेठोबुढो चामल, कोदो, फापसको पिठो, मैकैको आँटो (च्याँख्ला), जौको पिठो, सातु जस्ता स्थानीय खाद्य सामाग्री, लेकाली सिमी, बोडी, मुलाको धजरा, मुलाको गुन्द्रुक, घ्यु, परम्परागत मुढेघारको मह, भीर मह, चटनी खाने भाँगो, सिलम, जंगली रातो च्याउ, टुसा, निउरोको सुकुटु, ढकायोको गुन्द्रुक समेत पूर्ण अर्गानिक खाद्य सामाग्री विक्रिमा राख्ने गरिएको छ ।

‘एक जना कृषक वा ठाउँको भन्ने छैन । जिल्ला बाहेक बाग्लुङ र मुस्ताङसम्मका उत्पादन राखिएको छ । कृषक समुह वा कोही ब्यक्तिले गाउँमा माना वा पाथीमा संकलनगरी वोरा पुऱ्याएर यहाँ ल्याउने हुन । कसैले चार माना–एक पाथी मात्र पनि ल्याएर आउँछन’ मितेरी लोकल मार्टकी संञ्चालिका पुष्पा पुनले भनिन, ‘खैरो, छिर्केमिर्के सिमी अन्नपूर्ण गापा, १ दोवाबाट ल्याउँछौं ।

कालो सिमी र फापरको पिठो मुस्ताङबाट ल्याउँछौं । टिमुर तोरीपानीबाट, भाँगो रुम, पात्लेखेत, डढुवा, पूर्णगाउँबाट, बदाम दोवा, बरंजाबाट आउँछन । चामल बाबियाचौर क्षेत्रबाट आउँछ । रातो च्याउ, भीरमह गुर्जाबाट ।’

महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन समुह मार्फत उत्पादन भएका सिस्नु पाउडर, टिमुरको चटनी, डालेचुक (सिवकथ्रोन)को जुस समेतका वस्तुको विक्री कक्षको रुपमा बेनीमा पहिलो पटक ११ बर्ष अघि लघु उद्यम विकास कार्यक्रमले ‘सौगात कोसेली घर’ स्थापना गरेको थियो ।

कोसेली घर कृषकले घरमा उव्रेको थोरै कृषी उपज होस वा कृषक समुहमा उत्पादित फसल बजार पुर्‍याउने माध्यम भएका छन ।

‘कोसेली घरले महिला तथा साना कृषी उद्यमीहरुलाई प्रोत्साहन गर्नुको साथै स्थानीय उत्पादनको बजारी करणमा सहज भएको छ’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘धेरै ब्यक्ति गाउँबाट सहर झरेपनि गाउँमा रहँदा जिव्रोमा गडेको अर्गानिक खानाको स्वाद विर्सेका छैनन । त्यसैले सहरका भान्सामा महंगो भएपनि लेकाली अर्गानिक स्वाद पाक्ने गरेको हो ।’

अध्यक्ष कुटुवालले थपे, ‘गाउँबाट सहर झर्दा पनि आफन्तले च्याउ, भाँगो, सिलम, गुन्द्रक, सिमी समेतका लेकाली कृषी उत्पादन कोसेलीको रुपमा ल्याउने र गाउँ आएका सहरका पाहुनालई पनि गाउँले उत्पानको सानो पोको कोसेली हाल्ने चलन हाम्रो समाजमा अझै जीवित छ ।’

लोकल मार्ट/कोसेली घर संञ्चालन गर्न ५ देखी १० लाखसम्म लगानी गरेका छन । अन्य खाद्यपसलमा जस्तो डिलरमा बाँकी राखेर सामान बेच्दै भुक्तानी गर्ने भन्ने मार्ट/कोसेली घरमा नहुने उनीहरुको अनुभव छ ।

‘कृषकको सानो सानो परिणाममा वस्तु खरिद गर्नु पर्ने भएकोले नगदमै कारोवार गर्नु पर्छ । सिमी, भाँगो, सिलम समेत केही वस्तुको माग अधिक भएकोले कृषकलाई अग्रिम पेश्की छोड्नु पर्छ ।

अन्य खाद्य वस्तु भन्दा धेरै नै महंगो हुनेहुँदा लगानी थेग्न मुस्किल हुन्छ’ धौलागिरी कोसेली घरकी मीना राम्जालीले भनिन्, ‘सँधै पनि विक्रि हुँदैन कुनै वेला कुनै बाहिरबाट भ्रमण टोली आयो भने झप्पै एकै पटक पनि विक्रि हुन्छ ।समयमा विक्रि भएन खेर जाने हो ।’

खेतवारीमा उत्पादन भएको सानो परिणामको अन्नपात मात्र होईन लेकाली प्राकृतिक हावापानीमा अर्गानिक उत्पादन हुनु पऱ्यो, जे पनि विक्रि हुन्छ । सिजन अनुसार वनपाखामा आफै उम्रेर खेर जाने निउरो होस वा जंगलमा पाईने ढकायो ।

लेकाली जंगमा प्रस्तस्त पाईने निगालाको टुसा होस वा रातो च्याउ । सहरमा अर्गानिक खाद्य वस्तुको माग बढेसँगै सदरमुकाम र गाउँपालिका तहमा खुलेका स्थानीय खाद्य सामाग्री विक्रि गर्ने कोसेली घर संञ्चालनमा आएपनि यहाँका गाउँलेहरुले जंगली वनस्पति वेचेर पनि राम्रो आम्दानी गर्न थालेका छन ।

‘मैले मात्र निउरो, टुसा, ढकायो र रातो च्याउको सुकुटीगरी ५० हजारबढीको विक्रि गर्छु । बेनी, पोखरा, काठमाण्डौका आफन्तलाई पनि उत्तिनै कोसेली पठाउँछु ।

जेठ लागेपछि साउनसम्म जंगली वनस्पति टिप्छौं, असोज–कात्तिकमा वेच्न लैजान्छौं’ धौलागिरी गाउँपालिका, ४ मुदी बगराकी राममायाँ पुनले भनिन, ‘खेती गर्नु पनी पर्दैन, गाईबाख्राले खाईदेला भन्ने पनि हुँदैन, झरीवादल र जुकाको टोकाई खप्ने र जाँगर भए वनभरी पैसा फलेको छ ।’ *कान्तिपुरमा समाचार छ ।

Comment