शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । बुधबार अपरान्ह साढे ६ बजेतिर प्रहरी वृत्त, बानेश्वरमा खबर आयो, ‘बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले फाल हानेका छन् । खबर पाउनेबित्तिकै बानेश्वरको प्रहरी टोली घटास्थलमा पुग्यो ।

पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे ।पछि उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको खुल्यो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरु १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैसवाल भएको खुलेको छ ।

दुवै पेप्सिकोलामा बस्दै आएका थिए ।बुधबार उनीहरु दुबै जना स्पोर्टस् ड्रेसमा उनीहरु स्कुल आएका थिए । तर साँझ दुवै गम्भीर घाइते अवस्थामा भेटिए । घरमा काम गर्ने मजदुरहरुले उनीहरु माथि जाँदै गरेको देखेका थिए, तर वास्ता गरेनन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय अगाडि आएका छैनन् ।‘यद्यपि अनुसन्धान बल्ल सुरु भएको छ’ एक अधिकृतले भने, ‘अहिलेसम्म उनीहरुको कुनै नोट वा अरु केही पनि भेटिएको छैन ।’

प्रहरीले बिहीबारदेखि विद्यालय र उनीहरुका साथीहरुसँग पनि बयान लिने बताएको छ । प्राविधिक पक्षमा पनि अनुसन्धान अघि बढाउनेछ ।


Last Updated on: August 31st, 2022 at 9:59 pm

तपाईको प्रतिक्रिया