बुधबार १९ आश्विन २०७९

धनगढी- आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएकाे छ। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेकाे हो।

बुधबार सम्पन्न नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो। अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्।

विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्। यस पटककाे निर्वाचनमा आरजु देउवा गठबन्धनकाे उम्मेदवार हुने हुँदा सहजै जित्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृप बहादुर वड बताउँछन्।

उनले यस क्षेत्रमा स्थानीय तहकाे निर्वाचनमा कांग्रेसका वडाअध्यक्षले पाएकाे मत हेर्दा पनि कांग्रेस निकै अगाडि रहेकाे र त्यसैमा गठबन्धन दलकाे मत थपिए आरजुले सहजै चुनाव जित्ने बताए।

हाल प्रदेशकाे राजधानीसमेत रहेकाे कैलाली निर्वाचन क्षेत्र नम्बर ५ काे धनगढी उपमहानगरपालिकामा स्थानीय तहकाे निर्वाचनमा प्रमुख स्वतन्त्र उम्मेदवार गाेपाल हमाल र उपमेयर एमालेकी कन्दकला राना निर्वाचित भएका थिए।

२०७४ काे निर्वाचनमा कांग्रेसकै नेता पुष्करनाथ ‌ओझाले असहयाेग गर्दा आरजुले पराजित हुनु परेकाे भन्दै पुष्करनाथ ओझालाई कारबाही गरिएकाे थियाे। अहिले पनि ओझाकाे कारबाही फुकुवा भएकाे छैन।

पुष्करनाथ ओझा कांग्रेसले कारबाही फुकुवा नगरे पनि यसै निर्वाचन क्षेत्रबाट स्वतन्त्र चुनाव लड्ने तयारीमा छन्।


Last Updated on: September 1st, 2022 at 10:08 am

तपाईको प्रतिक्रिया