बुधबार १९ आश्विन २०७९

नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारीका लागि पार्टी अध्यक्ष पुष्कमल दाहालसहित तीन नेताको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रको बिहीबारको बैठकले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट दाहालसहित केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशिला सिंखडाको नाम प्रस्ताव गरेको हो । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट अधिकारी विजयी भएका थिए ।

जिल्लाको प्रस्ताव प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर अन्तिम निर्णय हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापाले बताए । ‘पार्टी अध्यक्षको नाम पनि सिफारिस भएको छ, उहाँलाई हामीले १ नम्बर क्षेत्रबाट निर्वाचन लड्न आग्रह पनि गरेका छौँ,’ थापाले भने ।

त्यस्तै गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुणामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरिएको थापाले जानकारी दिए । श्रेष्ठ राष्ट्रिय सभा सदस्य पनि हुन् ।

माओवादी केन्द्रले चारवटै प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम पनि प्रदेश कमिटीमा सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा लेखबहादुर थापा, अमरबहादुर गुरुङ र परशुराम रम्तेल, १ को ‘ख’ प्रदेशसभा निर्वाचन क्षेत्रमा कृष्ण धिताल, जगन्नाथ खनाल र धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ को ‘क’ प्रदेशमा खोपबहादुर कडेल, कमला नहर्की र धना गुरुङ कोइराला, २ को ‘ख’ मा भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । समानुपातिकतर्फ छमबहादुर गुरुङसहित ८ जनाको नाम सिफारिस भएका थापाले जानकारी दिए ।


Last Updated on: September 2nd, 2022 at 10:07 am

तपाईको प्रतिक्रिया