शुक्रबार १४ आश्विन २०७९

झापा – झापाको बिर्तामोडमा रहेका फुटपाथ व्यवसायीले आफ्नै लगानी र प्रयासमा आफ्नो व्यवसायलाई व्यवस्थित गरेका छन्। बिर्तामोड नगरपालिकाले साउन २२ गते सूचना जारी गरेर ७ दिनभित्र फुटपाथ व्यवसाय हटाउन निर्देशन दिएपछि उनीहरू आफ्नै प्रयासमा व्यवस्थित भएका हुन्।

सडकका पेटी वा पेटीका छेउछाउमा फलफूल पसल गरेर बसेका व्यवसायीलाई संकट आइपर्‍याे। हुन पनि सडक पेटीमा कुनै व्यवसाय गर्न पाइँदैन। तर यसअघिका स्थानीय सरकारले उनीहरूलाई त्यहीँ रहेर व्यवसाय गर्न दिइरहेको थियो। यस पटक भने बिर्तामोड नगरपालिका फुटपाथ खाली गराउन लागिपर्‍याे।

अन्ततः फुटपाथमा रहेका व्यवसायीले सडकका पेटी छाड्नै पर्ने बाध्यता पर्‍याे। सडकका पेटीबाट विस्थापित भएपछि उनीहरूका संकटका दिन आए। उनीहरूले नगरपालिका कार्यालय गएर नारा लगाए। नगरपालिकामा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही व्यवसायीलाई पक्राउ पनि गर्‍याे।

तर आफ्ना लागि आफैं केही नगरी नहुने रहेछ भन्ने लागेर उनीहरू उपयुक्त स्थानको खोजीमा लागे। र, बिर्तामोड निवासी तथा व्यवसायी दिनेश पाठकले आफ्नो जमिन उनीहरूलाई व्यवसाय गर्न दिन सहमत भए। अहिले पाठकलाई फलफूल व्यवसायीले धन्यवाद दिएका छन्।

फलफूल व्यवसायी श्रवणकुमार दासले भने, ‘हामी यहाँ भएका २७ जना फलफूल व्यवसायीको उहाँलाई सँधै आशीर्वाद लाग्छ। ‘बिर्तामोडको भद्रपुर रोडसहित अन्य रोडहरूमा फुटपाथ व्यवसाय सञ्चालन गरिरहेका व्यापारीले भद्रपुर रोडमै जग्गा भाडामा लिएर व्यवसाय थालेका हुन्।

तीन दिन अघिदेखि भद्रपुर रोडस्थित बैंक अफ काठमाडौँको उत्तर भागमा रहेको खाली जग्गामा उनीहरूले आफ्नो व्यवसाय सुरु गरेका हुन्। उक्त जग्गा बिर्तामोडबासी दिनेश पाठकको हो।सडकको आसपासमा व्यापार गर्दै आएका उनीहरू टिनको छानासहितको स्टल बनाएर बसेका छन्।

२७ जना व्यवसायीले आफ्नो व्यापार सुरु गरिसकेका छन्। २ वर्षका लागि भाडामा लिइएको जग्गामा अगाडि र पछाडिको भागमा व्यापार गर्नेहरूको भाडादर फरक-फरक रहेको छ। अर्की फलफूल व्यवसायी शीला पासवानले भनिन्, ‘आफ्ना लागि आफैं विकल्प नखोजी नहुने रहेछ भनेर यहाँ जमिन लिएर स्टल बनाएका हौँ।’

उनीहरूलाई स्टल बनाउन अहिलेसम्म करिब ६ लाख रुपैयाँ खर्च भइसकेको छ। सबै व्यापारीसँग पैसा उठाएर उनीहरू व्यवस्थित भएका हुन्। आफूहरू व्यवस्थित भए पनि बिहान र साँझका बेला अन्य व्यक्तिहरूले सडकमा ठेला लगाउने गरेको भन्दै नगरपालिका कार्यालयलाई कडा अनुगमनका लागि उनीहरूले आग्रह गरेका छन्। देश संचार


Last Updated on: September 2nd, 2022 at 5:23 pm

तपाईको प्रतिक्रिया