शुक्रबार १४ आश्विन २०७९

अल्फाबिटा ग्रुपले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अभियानलाई साथ दिने स्पष्ट पारेको छ ।ग्रुपका निर्देशक द्विराज शर्माले कानूनविपरीत हुने कुनै पनि कार्य हालसम्म पनि नगरेको र आगामी दिनमा पनि नगर्ने बताउँदै महानगरपालिकाको अभियानलाई साथ दिने बताएका हुन् ।

‘महानगरपालिकाको निर्देशनअनुसार हामीले आफ्ना संरचनागत सुधार गर्ने प्रतिवद्धता जाहेर गर्छौंं,’ शर्माले भने, ‘आशा छ यो अभियानलाई सम्पुर्ण नगरबासीले पनि साथ दिनुहुनेछ ।’शर्माले सुरुवातमा केहि असमझदारीका कारण फरक स्थिती उत्पन्न हुन पुगेको बताए ।

पूर्ववत् सूचना प्राप्त भएको भए सायद त्यसरी असमझदारी उत्पन्न हुने थिएन, घरको नक्सा बोकेर नहिँड्ने भएकाले त्यसदिन आरोपप्रत्यारोपको स्थिती सृजना भएको उनको कथन छ । नगरपालिकामा पनि नक्साको प्रतिलिपी हुन्छ, नक्सा अनुरुप नै व्यवसायिक प्रयोजनको निम्ती भवन प्रयोग गरिएको भन्न खोज्दा त्यसको उल्टो अर्थ लाग्न गएको उनले थपे ।

उनले त्यो दिन आफूहरुले समय मात्रै मागेको बताउँदै महानगरपालिकाले जनतालाई सुसुचित गरेर आफ्ना काम कारवाही गर्नुपर्छ भन्न खोजिएको बताए । व्यवसायिक प्रयोजनका हिसाबले भुँई तला भनेर नक्सा पास भएको भए पनि अब आफ्नै प्रयोजनका निम्ती पार्किङ फ्लोर नै बनाउने तयारी अल्फाबिटाले गरेको छ ।

महानगरले सडक विभागसँग समन्वय गरेर मुलबाटोसँग पहुँच दिए, अब अल्फाबिटाको भुँई फ्लोरलाई पार्किङमा परिणत गरिने भएको छ । कोभिडको समयमा पिसिआर ल्याब संचालनमा ल्याइएको उक्त स्थानबाट करिब २ लाखको पिसिआर टेष्ट गरिएको अल्फाबिटाले जनाएको छ ।

काठमाडौं महानगर वडा नम्बर १० का बासिन्दालाई मेडिकल ल्याब टेष्टमा ५० प्रतिशत छुट दिइएको बताइएको छ । विधिवत्रुपमा दर्ता गरेर संचालन गरिएको औषधी पसलमा डोजर लगाउनुपूर्व सामान स्थानान्तरण गर्ने गरि समय उपलब्ध गराइएको भए हुन्थ्यो भन्ने अल्फाबिटाको भनाई छ ।

अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्ड फ्लोरमा पार्किङको व्यवस्था गर्न संरचनागत सुधार गर्न सुरु गरिसकेको शर्माले बताए । पार्किङमा जान सडकबाट शाखा बाटो निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।

नगर प्रमुख बालेनको यो अभियानलाई सहयोग गर्न अल्फाबिटा सधैं तयार रहेको र त्यसअनुरुप महानगरलाई व्यवस्थित बनाउने अभियानमा आगामी दिनमा हातेमालो गर्न अल्फाबिटा तयार रहेको शर्माले बताए । आफू बस्ने शहर स्वच्छ, व्यवस्थित र सुन्दर हुँदा नगरबासीलाई नै फाइदा हुने भएकाले महानगरको उक्त सोचमा आफु सधैं सकारात्मक रहेको शर्मा बताउँछन् ।


Last Updated on: September 2nd, 2022 at 11:09 pm

तपाईको प्रतिक्रिया