शुक्रबार १४ आश्विन २०७९

चितवनको भरतपुर महानगरपालिका भित्र विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको सुरुवात भएको छ । आज (शनिबार) पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो कार्यको शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डसंगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायत सहभागि थिए ।पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तरगत भूमिगत तार गर्ने कार्यको सुरुवात भएको छ ।

यसका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट्स प्रा.लि.ले ठेक्का सम्झौता गरेको छ । कुल कुल २ अर्ब ५८ करोड ७९ लाख ३८ हजार ३५२ रुपैयाँमा यस आयोजनाको सुरुवात भएको हो ।नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी र एशियाली विकास बैंकको ऋण सहयोगमा यस आयोजना अघि बढाईएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

यस आयोजना २ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । यस आयोजनाको मुख्य उद्देश्य विद्युत वितरण प्रणालीलाई भूमिगत रुपमा सुदृढीकरण गर्ने, आवश्यकता अनुसार ओभरहेड रुपमै पनि सुदृढीकरण गर्ने, जडित वितरण ट्रान्सफरमरहरु थप गर्ने र अप्टिकल फाइबर केबुल बिछ्याई वितरण प्रणाली अटोमेशन गर्ने रहेको छ ।

यस आयोजनाले शहरी सौन्दर्यीकरणमा पनि महत्वपूर्ण सघाउ पुर्‍याउने छ ।परियोजना प्रमुख वीरेन्द्रकुमार झाले वितरण प्रणालीलाई भूमिगत र आवश्यकताअनुसार ओभरहेडरुपमै पनि सुदृढीकरण गरिने बताए। हाल जडित ट्रान्सफरमरहरुको क्षमता अभिवृद्धी गर्ने तथा नयाँ वितरण ट्रान्सफरमरहरु थप गर्ने झाले बताए।

भारतको टाटा प्रोजेक्ट्स लिमिटेडसँग २०२२ जनवरी २० मा सम्झौतागरी कार्य प्रारम्भ भइसकेको प्राधिकरणले जनाएको छ। यो आयोजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विद्युतीय लाइन भूमिगत गर्ने कामले स्मार्ट सिटी भरतपुरको लक्ष्यमा सघाउने बताए।

उनले यो कार्य विकासमात्रै नभएर जनताको सुरक्षा र सहरको सौन्दर्यसँग जोडिएको बताए। ‘भरतपुरलाई विकासको मोडलकारुपमा विकास गर्नुपर्छ भनेर हामी लागेका छौं। यही अभियानअन्तर्गतको योजना हो यो,’ दाहालले भने, ‘सहर हुँदै पुरै महानगरको विद्युतलाइन भूमिगत गर्नेतर्फ लाग्नुपर्छ।’


Last Updated on: September 3rd, 2022 at 1:06 pm

तपाईको प्रतिक्रिया