
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा उनले अहिल्यै राजनीतिबाट विश्राम नलिने बताए।
‘मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति मामा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम लिने सोँच छैन। देशको कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य अझै छ,’ उनले भने। उनले सुशासन, सामाजिक न्याय र समाजवादका लागि राजनीतिमा सक्रिय भएको भन्दै कार्यकारी बन्न अझै बाँकी रहेको बताए।
उनले कार्यकारी पदमा पुग्नेहरुसँग नैतिक बल आवश्यक हुने हुँदा आफूमा त्यो बल रहेको बताए। उनले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए।
आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ। आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ।’
देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर आफु सक्रिय राजनीतिमा लागेको बताएका उनले देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि आफुसँग भएको बताए ।
सुशासन भए मात्र देशले समृद्धि हासिल गर्न सक्ने भन्दै स्वतन्त्रता, सम्वद्र्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने भन्दै नेता पौडेलले भने, ‘म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।’