आइतबार १६ आश्विन २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण सिट बाँडफाँड टुंगो नलागेको बताएका छन्। शनिबार विराटगरमा आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनको कांग्रेसको अहंकार आगामी निर्वाचनको बाधकको रुपमा देखा पर्न थालेको बताए।

‘२०७४ सालमा कांग्रेसले २३ सिट जितेको थियो। अहिले १०० सिटको माग गरिरहेको छ,’ उनले भने, ‘हामी ७० सिट दिन तयार छौं। तर, सहमति जुट्न सकेको छैन।’सहमतिका लागि पटक-पटक प्रयास भए पनि सहमतिको सम्भावना क्षीण हुँदै गएको अध्यक्ष नेपालले बताए।

हैसियतभन्दा बढी सिट माग गरेको हुनाले जटिलता उत्पन्न भएको उनले जिकिर गरे। उनले भने, ‘बालुवाटारमा बालुवा पेलेको पेलै छौं। तर, तेल निस्किएको छैन।’अघिल्लो चुनावमा जित हाँसिल गरेको आधारमा सिटको भागबण्डा गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए।

तर, चुनावअघि बाम एकताको सम्भावना भने नरहेको उनले स्पष्ट पारे। उनले भने, ‘चुनावअघि वाम गठबन्धनको सम्भावना नरहे पनि चुनावपछि भने अवस्था हेरेर हुनसक्छ।’विराटगरमा आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल।

उता नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै दलको साझा उम्मेदवार बनेर गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चाहना रहेको बताएका छन् ।

गृहजिल्लामा शनिबार पत्रकारसँग कुराकानी गर्दै भट्टराईले पहिलेकै निर्वाचन क्षेत्र गोरखा २ बाट आगामी चुनावमा उम्मेदवार बन्ने घोषणा गरे । ‘प्रत्येक दलको, व्यक्तिको आ–आफ्नो दाबी रहन्छ नै,’ उनले भने,‘गठबन्धन गरेर जाँदा अहिलेसम्मको हाम्रो बुझाई के हो भने जसले जहाँ जितेको हो ।

त्यस ठाउँबाट चुनाव लड्ने आन्तरिक अन्डरस्याट्न्डिङ छ, त्यसअन्तर्गत स्वत: २ नम्बर क्षेत्रबाट चुनाव लड्छु ।’ गठबन्धनबाट अन्तिम टुंगो लगाउन भने बाँकी रहेको उनले प्रस्ट्याए ।गोरखालाई विकास र समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता भएकाले सबैको साथ सहयोग रहने भट्टराईले बताए ।

‘देशलाई विकास र समृद्धिको दिशामा लैजाने अहिलेको आवश्यकता हो, गोरखालाई त्यसको मोडेल बनाएर जाने सोच छ,’ उनले भने,‘यसलाई हेर्दा पनि मेरो हैसियत, इतिहास, रुचीले पनि साझा उम्मेदवारको रुपमा अघि बढ्न चाहिरहेको छु, कांग्रेस, माओवादीको त अवश्य साथ रहन्छ, अन्य दलका साथीहरुले पनि एकपटक गोरखाको साझा प्रतिनिधिको रुपमा लिनुहुन्छ भन्ने विश्वास छ ।’

यस पटक दलविशेष, नेता विशेषको भन्दा पनि साझा ब्यक्तित्वको रुपमा प्रस्तुत हुने चाहना रहेको भट्टराईले सुनाए ।सुशासन र समृद्धि थेगो जस्तो बनेकाले मार्गचित्र बनाएर अघि बढ्ने उनले बताए ।


Last Updated on: September 3rd, 2022 at 11:00 pm

तपाईको प्रतिक्रिया