नेपाललाई विश्वसामु चिनाइरहेका यी अन्तर्राष्ट्रिय ‘भ्लगर’ – Gandaki Chhadke
Friday, August 12

नेपाललाई विश्वसामु चिनाइरहेका यी अन्तर्राष्ट्रिय ‘भ्लगर’

July 30, 2022

काठमाडौँ

थाइल्याण्डको राजधानी बैंकक बस्दै आएका मार्क विन्स विश्व चर्चित फुड भ्लगर हुन्। युट्युब च्यानलमा ९९ लाखभन्दा बढी सब्सक्राइबर भएका उनी विभिन्न देशहरूमा पुगेर ‘फुड भ्लग’ बनाउँछन्।

कोरोना महामारी सुरु हुनुभन्दा पहिले उनी नेपाल आएर यहाँका स्थानीय परिकार र हिमाली पर्यटन समेटेका विभिन्न चार भ्लग बनाएका थिए। उनले आफ्नो भ्लगमा नेपाली दाल, भात, तरकारी, नेवारी खाजा, स्ट्रिट फुड र घोरेपानी पुनहिल पदयात्रालाई समावेश गरेका छन्।

आफ्नो भ्लगमा उनले नेपाल अद्भूत देश भएको बताउँदै नेपाली खाना स्वादिष्ट भएको उल्लेख गरेका छन्। भ्लगको माध्यमबाट उनले विदेशीहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गरेका छन्।

युएईका भ्लगर खालिद अल अमेरी एक महिनाअघि नेपाल आएका थिए। युट्युब च्यानलमा १६ लाखभन्दा बढी सब्सक्राइबर रहेका उनले नेपालसँग सम्बन्धित विभिन्न पाँचवटा वटा भिडियो बनाएका छन्।

उनले नेपाली परिकार ममबारे ‘फ्लिउ टु नेपाल फर दिस’ नेपाली खानासम्बन्धी ‘द मस्ट युनिक नेपाली स्ट्रिट फुड’ र नेपालको संस्कृति झल्काउने गरी ‘आई मेट अ कुमारी चाइल्ड गडेस’ भ्लग बनाएका छन्।

त्यसमध्ये खानाको भ्लग १६ लाखभन्दा बढीले हेरेका छन्। भने, दुई हजार पाँच सय जनाले प्रतिक्रिया जनाएका छन्। यस्तै नर्बेका चर्चित ट्राभल भ्लगर हाराल्ड बाल्डर ६ महिनाअघि नेपाल आएका थिए।

युटुबमा २३ लाखमाथि सब्सक्राइबर भएका उनले नेपालसम्बन्धी विषयमा विभिन्न २२ वटा नेपाली भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन्। जसमध्ये आठ वटा भिडियो हिमालय सम्बन्धी छन्। अन्य भिडियोमा खाना, किनमेल र होटलसँग सम्बन्धित छन्।

उनले अपलोड गरेका २२ मध्ये १८ वटा भ्लग १० लाखभन्दा बढी पटक हेरिएको छ। कुनैकुनै भिडियोमा त ३० लाखभन्दा बढी भ्युज छ। ४ वटा भ्लग पनि १० लाख नजिक पुगेका छन्।

उनको भ्लगमा हिमालयको सुन्दरतालाई धेरै विदेशीहरूले रुचाएर प्रतिक्रिया दिएका छन् र उनीहरूले नेपालका हिमालयको अनुभव गर्न चाहेको बताएका छन्। भ्लगको प्रतिक्रियामा नेपालको सुन्दरताबारे विदेशीहरूले उल्लेख्य मात्रामा चासो राखेका छन्।

उनले आफ्नो हिमालयन भ्लगमा सुरुदेखि अन्त्यसम्म पूरा भिडियो हेर्न दर्शकहरूलाई प्रभाव पार्ने मौलिक भिडियो हालेका छन्। जसले गर्दा उनको भिडियो हेर्ने विदेशीले नेपालप्रति निकै चासो राखेका छन्।

केही हप्ताअघि स्कटिस मूलका चर्चित ट्राभल भ्लगर डाले फिलिपले पोखरा यात्राको भिडियो अपलोड गरेका थिए। उनको उक्त हालसम्म भिडियो ७ लाख ८७ हजार मानिसले हेरिसकेका छन्। १.१२ मिलियन फलोर्अस रहेका उनको युट्युबमा हालसम्म ४ वटा भिडियो अपलोड गरेका छन्।

उनको पहिलो भिडियोमा हालसम्म १.२ मिलियन भ्युज छन्। उनले आफ्नो फेसबुकबाट पनि पोखरा बसाइको भिडियो पोस्ट गरिरहेकोमा ती भिडियोहरू निकैले हेरेका छन्।

‘एस थ्योरी’ नाम गरेको युट्युब च्यानलमा गत जुलाई ३ मा अपलोड गरिएको नेपालको ‘मह हन्ट’ सम्बन्धी भ्लगले ४ दिनमै १४ लाख भ्युज कमाएको थियो। हाल उक्त भिडियो ३५ लाखभन्दा बढीले हेरिसकेका छन्।

नेपालमा हनी हन्टिङलाई पर्यटनको नजरले त्यति चासो नदिए पनि यसप्रति मानिसहरूको कति धेरै चासो छ भन्ने उदाहरण ‘एस थ्योरी’ मा अपलोड गरिएको भिडियोले पुष्टि गरेको छ।

विदेशी भ्लगरले नेपाल भ्रमणका क्रममा तयार पारेका यस्ता भिडियो सामग्रीले निःशुल्क रूपमा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेका छन्। पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारले ठूलो लगानी गरे पनि प्रभावका हिसाबले व्यक्तिगत रूपमा तयार पारिएका यस्ता भ्लगहरू प्रभावकारी देखिएका छन्।

भ्लग के हो? यो कहिलेदेखि प्रयोगमा आएको छ?

‘भिडियो लग’ वा ‘भिडियो ब्लगिङ’ भ्लग शब्द छोटकरी स्वरूप हो। सन् १९८९ मा आधिकारिक रूपमा इन्टरनेट सुरूवात भए पनि १९९९ मा मात्र भ्लगको विकास भएको मानिन्छ।

अमेरिकाको लस एन्जल्स निवासी एडम कोन्ट्रासले २००० जनबरी २ मा १४ सेकेन्डको भिडियो अपलोड गरेका थिए। सो भिडियोमा उनले आफ्नो अपार्टमेन्टमा बिरालो र महिला मित्रलाई समावेश गरेका थिए। १४ सेकेन्डको उक्त भिडियो नै भ्लगिङ इतिहासको पहिलो सामग्री मानिन्छ।

त्यसपश्चात् उनले सक्रिय रूपमा भ्लगिङ जारी राखेका थिए। भ्लगमा व्यक्तिहरूले आफ्नो जीवनको सिकाइ, भोगाइ, अनुभव तथा उनीहरूले यात्राका क्रममा फेला परेका रोचक कुराहरूको भिडियो बनाई इन्टरनेटमा राख्दछन्।

२०२२ को एक तथ्याङ्क अनुसार हाल विश्वमा ५१ मिलियनभन्दा बढी युट्युब च्यानल रहेकोमा प्रत्येक मिनेटमा ५०० घण्टा भिडियो अपलोड हुने गर्छ।फिलिक्स सेजेलबर्ग विश्वको नम्बर एक भ्लगर हुन्।

‘पिउडाइपाई’ नामको उनको च्यानलमा १ सय ११ मिलियन सब्सक्राइबर रहेका छन्। भने, ४.४ हजार भिडियो अपलोड भएका छन्। उनको यस च्यानल विश्वको सबैभन्दा लोकप्रिय च्यानल हो।

नेपालको सन्दर्भमा हेर्ने हो भने र्‍यापर तथा रेडियो, टिभी जक्की गिरीस खतिवडाले भ्लगको प्रयोग गरेका थिए। २००६ मा उनले आफ्नो भ्लग यात्रा सुरू गरेका थिए। गिरीस खतिवडा नाम दिएको उनको च्यानलमा हालसम्म ४ लाख ४७ हजार सब्सक्राइबर रहेका छन् भने ४ सय ९ भिडियो अपलोड भएका छन्। भने, गीतसंगीत, भल्ग, पोडकास्ट तथा गेमहरूको गतिविधि राखेका छन्।

सिसन बानियाँ, हेर्ने कथा, एमआर बी भ्लग, द कार्टुन क्रिउ, नेपाल ३६० लगायतका भ्लगहरू नेपालमा चर्चित छन्। यसबाहेक म्युजिक नेपाल, बुढासुब्बा डिजिटल, ओएसआर, हाइलाइट नेपाल, ईन्द्रेणी नेपाललगायतका च्यानलहरूको सब्सक्राइबर सबैभन्दा बढी छन्।

नेपालमा पनि पछिल्लो समय उल्लेख्य रूपमा भ्लगिङ संस्कृति बढेको छ। आफ्नो भोगाइ, सिकाइ तथा अनुभवलाई भ्लगमा सार्वजनिक गर्छन्। ‘रूङमाहाङ भ्लग’ जस्तो सामान्य जीवनयापनको भिडियोदेखि लिएर विषयवस्तुमा आधारित ‘हेर्ने कथा’ जस्ता सयौँ भ्लगहरू नेपालमा लोकप्रिय छन्।

सामान्यता नेपाली भ्लगहरू विषयवस्तुभन्दा दैनिक जीवनयापनका गतिविधिहरूसँग सम्बन्धित छन्। ट्राभल भ्लगको सन्दर्भमा हेर्ने हो भने चाहिँ विशुद्ध नेपाली ट्राभल भ्लग भने खासै छैनन्।

तर, कहिलेकाहीँ भ्रमण यात्राको पनि भिडियोलाई समावेश गरेको भने पाइन्छ। ‘नेपाल ३६०’, ‘नेपाल ८ औं वन्डर अफ द वर्ल्ड’ लगायतका नेपाली युट्युब च्यानलहरू भने नेपालको सुन्दर र सम्भावित पर्यटकीय स्थानहरूको भिडियो साझा गर्छन्।

पर्यटन गन्तव्य चिनाउन नयाँ प्रविधि

सम्भावित पर्यटन यात्रा गर्ने ट्राभल भ्लगरले आफ्नो यात्रा अनुभव भिडियोको माध्यमबाट साझा गर्छन्।र उक्त भिडियो इन्टरनेट पहुँच भएका लाखौँ मानिसहरूमा एकैपटक सहजै पुग्छ।

उनीहरूले नयाँ र रोमाञ्चक सम्भावित गन्तव्यलाई सार्वजनिक गर्दै बजारीकरण गर्छन्। पर्यटक सामान्य अनुभवका लागि नभएर उत्कृष्ट/विशिष्ट अनुभवका लागि आउने भएकाले यात्रा भिडियोले तिनको निर्णय र चाहना दुवैलाई प्रभाव पार्छ। यात्रालाई निरन्तरता दिन थप उत्प्रेरणा दिन्छ।

ट्राभल भ्लगरहरू पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्ने प्रमुख स्रोत बन्न सक्छन्। उनीहरूको प्रभाव विश्वव्यापी रूपमै हुने भएको हुँदा जानकारी छिनमै धेरै मुलुकहरूमा फैलिन्छ।

फलस्वरूप घुम्न चाहने व्यक्तिमाँझ सूचना फैलिएर पर्यटक बढाउँछ। यस्ता भ्लगहरूको माध्यमबाट दर्शकहरूले लागत, यातायात तथा आवासजस्ता पक्षको जानकारी पाउने हुँदा यात्राका लागि अझ बढी तयारी गर्न र उनीहरूलाई अझ सुरक्षित महसुस गराउन सहयोग गर्छ।

सन् २०१९ को पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १४० देशहरूमध्ये १०२ औं स्थानमा रहेको थियो। क्षेत्रफलका हिसाबमा सानो मुलुक भए पनि ४०० भन्दा बढी हिमाल, प्राचीन कला संस्कृति र प्राकृतिक दृश्यले धनी देश हो नेपाल।

यसरी नेपालमा उल्लेख्य पर्यटनका आधारहरू भए तापनि प्रचारप्रसारको अभाव, यातायात तथा पूर्वाधारको कमी, पर्यटन सेन्टरहरूको कमी लगायतका समस्याहरूले गर्दा लक्ष्य अनुरूपको पर्यटक भित्र्याउन सकिएको छैन।

यसरी पर्यटनको अपार सम्भावना हुँदै गर्दा पनि नेपालको सुन्दरता र मनमोहकतालाई विश्वमाँझ पुर्‍याउन सकिएको छैन। तसर्थ विश्वमा नेपालको सुन्दरतालाई चिनाउनका लागि सबैभन्दा पहिला प्रचारप्रसार आवश्यक छ। यसका लागि अन्तर्राष्ट्रिय भ्लगरको आगमनलाई पहिचान गरेर योजनाबद्ध रूपमा परिचालन गर्न सकेको खण्डमा पर्यटकको संख्या बढाउन सकिन्छ।

सरकारको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा पर्यटन आगमनको कुल संख्या २.१ प्रतिशतले बढेर ११ लाख ९७ हजार पुगेको थियो।

तर, कोभिडका कारण सन् २०२० मा पर्यटक आगमन करिब ८१.० प्रतिशतले घटेर २ लाख ३० हजारमा झरेको थियो। तथ्याङ्कअनुसार सन् २०२१ मा यो संख्या ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार पुगेकोे थियो। जुन पछिल्लो ४५ वर्ष यताकै सबैभन्दा न्यून संख्या हो।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रले ठुलो आर्थिक क्षति ब्यहोर्नुपरेको अवस्थामा उनीहरूको चर्चा र पहुँचको सदुपयोग गरी भौगोलिक, धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्त्वलाई विश्वव्यापी प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।

मौलिक संस्कार र सभ्यतालाई पुनः जागृत गर्न सकिन्छ। तसर्थ सरकार तथा सरोकारवाला निकायहरूले उनीहरूको आगमनलाई पहिचान गरी उनीहरूको भ्रमणलाई व्यवस्थापन गरी लाभ लिनुपर्ने समय आएको छ।

पर्यटकहरूले मनोरञ्जन लगायत विविध सेवा र सुविधाका लागि पैसा खर्च गर्न तयार हुन्छन्। यसले पर्यटन क्षेत्र मात्र नभई राष्ट्रको आर्थिक समृद्धिमा समेत सकरात्मक प्रभाव पार्छ। त्यसैले पनि उनीहरूको भ्रमणलाई व्यवस्थापन गरेर पर्यटन क्षेत्रको प्रचारप्रसार गरेको खण्डमा पर्यटन क्षेत्रलाई राहत मिल्न सक्छ।

सन् २०१९ मा सरकारले हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण गरेको थियो। उक्त मार्टमा सरकारले अन्तराष्ट्रिय भ्लगर हरूसँग छलफल कार्यक्रम आयोजना गरेको पर्यटन बोर्डका अनुसन्धान, योजना तथा अनुगमन निर्देशक निर्देशक मणिराज लामिछानेले बताए।

मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय भ्लगर्ससँग सहकार्य आवश्यक महसुस गरी बोर्डले उनीहरूसँग छलफल गरेकोमा लगतै कोरोना कहरले सहकार्य हुन नसकेको उनले बताए।

यस्तै सरकारले केही समयअघि विभिन्न राष्ट्रमा नियुक्त राजदूतहरूलाई बोलाएर उनीहरू कार्यरत राष्ट्रका सामाजिक साइटका चर्चित इन्फ्ल्युन्सर तथा भ्लगरहरूसँग सहकार्य गरी नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा तथा प्रवर्द्धन उनीहरूसँग सहकार्य गर्नुपर्ने औपचारिक छलफल भएको उनले बताए। यसका लागि पर्यटन बोर्डले आवश्यक साथ, सहयोग र पहल गर्ने उनले जनाए।

पर्यटन क्षेत्रका लागि सरकारले यो वर्ष ९ अर्ब ३८ करोड विनियोजन गरेको छ। आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपाल सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ।

सरकारले यही साउन ८ गते पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको थियो। उक्त कार्य योजनाको बुँदा ११ मा सरकारले अन्तर्राष्ट्रिय ख्याती प्राप्त र सामाजिक सञ्जालमा लोकप्रिय रहेका व्यक्तिहरूलाई नेपालको पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने र उनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्न तथा सम्मानको कार्यक्रम राख्ने घोषण गरेको छ।

यसका लागि पर्यटन बोर्ड मुख्य जिम्मेवार निकाय र सहयोगी निकायमा पर्यटन मन्त्रालय र निजी क्षेत्र हुने उल्लेख गरेको छ र यसका लागि सरकारले कार्ययोजना कार्यान्वयन भएको एक महिनाभित्र सुरू गर्ने भनेको छ।

उनीहरूका यात्रा भिडियोहरूले सम्बन्धित मुलुकलाई प्रत्यक्ष/परोक्ष फाइदा गरिरहेको हुन्छ। त्यसैले उनीहरूको गतिविधिहरूलाई सम्बोधन गरी सरकार तथा सरोकारवाला पक्षले सक्दो फाइदा लिएर पर्यटन क्षेत्रलाई मजबुत बनाउनेतर्फ अब ध्यान दिनु जरूरी देखिएको छ।

उनीहरूको आगमन, बसाइ, खर्च एवम् यात्रामा सहजीकरण गरेर होस् या व्यक्तिगत रूपमै निमन्त्रण दिएर होस्, अन्तर्राष्ट्रिय भ्लगरहरूको नेपाल आगमन बाक्लो बनाउन र उनीहरूको बसाइलाई सकेसम्म लम्ब्याइ पर्यटन क्षेत्रलाई सुधारोन्मुख गर्न सरकारले अन्तर्राष्ट्रिय भ्लगर को शक्तिलाई पहिचान गर्ने बेला आएको छ।

नागरिक

Comment