प्रचण्डलाई अन्तिम पटक प्रधानमन्त्री बन्ने रहर – Gandaki Chhadke
Friday, August 12

प्रचण्डलाई अन्तिम पटक प्रधानमन्त्री बन्ने रहर

July 30, 2022

काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।

शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी निर्वाचन देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम तथा स्मरणयोग्य हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए । उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनायोग्य बनाउने बताए ।

उनले आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच बलियो तालमेल हुने र सोही तालमेलका आधारमा पार्टीको स्थिति बलियो बन्ने बताए । ‘यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन । त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ ।

त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ । हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ,’ अध्यक्ष प्रचण्डले भने, ‘मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’

अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गरे ।

Comment