मंगलबार १८ आश्विन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर चुनाव घोषणा भइसकेको अवस्थामा तलब भत्ता खाएर बस्न नहुने भन्दै राजीनामा दिएका हुन्।

लिङ्देनले भने, ‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन। प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्।

तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।’ उता नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गतसालको बाढीका कारण पीडित बनेका मेलम्चीवासीले क्षतिपुर्ति र राहत नपाएको भन्दै सरकारको आलोचना गरेका छन्।

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले धेरै ठूलो क्षति भएपनि सरकारले वेवास्ता गरेको उनले बताए। उनले भने, ‘करिब तीन हजार भन्दा बढी रोपनी जग्गा, दुई हजारभन्दा बढी सरकारी जग्गा र २५० भन्दा बढी घरमा क्षति भएको छ। त्यसको राहत र पुन:स्थापनाका लागि सरकारले विश्व बैंकसँग ऋण लिएको भनिएको छ। तर, पीडितसम्म किन पुगेन?’

सभामुखको नेतृत्वमा पटक पटक रुलिङ गर्दा पनि सरकारले अहिलेसम्म ध्यान नदिएको उनको गुनासो छ। यसैवर्ष आएको बाढीले चौतारासँग जोडिएको १०, ११ र १४ नम्बर वडामा धेरै ठूलो क्षति पुर्‍याएको उनले जनाएका छन्।


Last Updated on: September 4th, 2022 at 4:57 pm

तपाईको प्रतिक्रिया