मंगलबार १८ आश्विन २०७९

ठमेलस्थित छायाँ सेन्टरमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा एक सुरक्षा गार्ड पक्राउ परेका छन् ।भीएफएस ग्लोबल भिसा सेन्टरमा भिसाको कामले श्रीमतीसहित पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएका सुरक्षागार्ड शेरजङ गुरुङ पक्राउ परेका थिए ।

सुरक्षा गार्ड गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएपछि विवाद भएको थियो ।मन्त्री त्यहाँबाट फर्किएसँगै प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले गुरुङमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान सुरु गरेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख भरतबहादुर बोहराले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।यसो भन्छन् मन्त्री श्रेष्ठ-मलाई दिइएको समयअनुसार शुक्रबार त्यहाँ पुगेको थिएँ । म लाइनमा नै लागेको थिएँ । त्यहाँको नियमअनुसार नै लाइनमा लागेको हुँ ।

मभन्दा अगाडि एक जना अर्को मान्छे थियो । त्यसपछि मेरो श्रीमती हुनुहुन्थ्यो र त्यसपछि म थिएँ । म लाइनमा हुदाँहुँदै पनि ममाथि दुर्व्यवहार भयो ।मेरो पीएसओले उहाँ मन्त्री ज्यू हो भन्दा पनि ‘म मन्त्रीसन्त्री कोहीकसैलाई पनि चिन्दैन’ भनेर भन्यो ।

त्यो भिसा सेन्टर पनि त नेपाली नागरिकले तिरेको शुल्कबाट चलिरहेको छ । उसले भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन नि ! म उछिनेर गएको पनि होइन । मैले आफैंले पनि म मन्त्री हो भनेर भनेको थिएँ । त्यहाँ उसले ठेलमठेल पनि गर्‍यो ।

त्यसपछि मेरो पीएसओ पनि त्यहाँ रहेको र सुरक्षा निकायका साथीहरु पनि त्यहाँ भएको हुनाले उहाँहरुले ममाथि नै दुर्व्यवहार भएको देखेपछि आफ्नो प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाएको हो । मैले कारबाहीका लागि निर्देशन दिइरहनुपर्दैन ।


Last Updated on: September 4th, 2022 at 5:20 pm

तपाईको प्रतिक्रिया