बुधबार १९ आश्विन २०७९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ । प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि रु ७२ लाखको ठेक्का आह्वान गरिएको छ ।

ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । कम्तीमा पनि एक महिनाको अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान रहेको छ ।

यसैगरी रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताए । प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रुख कटानका लागि स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयले रुख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रुख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएबमोजिम काटिएका रुखहरू विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा रहेको छ । उ

क्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ । कूल रु २२ अर्बको लागत रहेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान सञ्चालन हुने भएको छ । क्षेत्रीयस्तरका वायुसेवाहरु यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका छन् ।


Last Updated on: September 4th, 2022 at 10:37 pm

तपाईको प्रतिक्रिया