Wednesday, August 10

यौनकर्मीकाे कथा– शरीर बेचेर कमाएको पैसा राख्ने ठाँउ छैन (भिडियाेसहित)

July 30, 2022

काठमाडौँ

मायानगरी मुम्बईमा अनगिन्ती ‘कथा बोल्ने’ कैयौँ गुमनाम र चर्चित रेड लाइट एरिया छन्। पश्चिम बंगालको कोलकता र महाराष्ट्रको मुम्बईभित्र दर्जनौँ ठुल्ठूला ‘यौनगृह’ छन्।

कोलकताको सोनागाची, मुम्बईको कमाठापुरा र भिवन्डी भारतीय यौन बजारका सबैभन्दा ठूला रेड लाइट एरिया हुन्। त्यसो त सोनागाची दक्षिण एसियाको सबैभन्दा ठूलो र कमाठापुरा भारतको दोस्रो ठूलो रेड लाइट एरियाको दर्जाभित्र पर्छन्।

कमाठापुरामा करिब चार हजार र भिवन्डीमा करिब एक हजार यौनकर्मी महिला बस्छन्। भलै, दुई वर्षअघिसम्म यहाँ दोब्बर देहकर्मी बस्थे। विश्व महामारी कोरोना भाइरसले उनीहरूको संख्यामा कमी आएको छ।

एउटा जीवनमा अनेकौँ समस्याबाट गुज्रिन बाध्य भएको यौनकर्मी महिलाहरू बताउँछन्। भारतीय समाजमा उनीहरूको कुनै पहिचान छैन। न अस्तित्व जोगाउने कागज–पत्र नै छन्। बरू यौनकर्मीसामु नयाँ–नयाँ चुनौती उभिएका छन्।

महामारीले कमाइ खाने ‘यौन–थलो’ थला परेको छ। कमाठापुरा र भिवन्डी रेड लाइट एरियाका अधिकांश महिलाको दैनिकी थप खस्किएको छ।

भिवन्डीका कतिपय यौनकर्मीसँग बैंक खाता छ। तर प्रायसँग छैन। खाता खोल्नका लागि बैंकले आधार कार्डलगायतका अन्य कागजात मागेको उनीहरूको गुनासो छ। ती कागज–पत्र यौनकर्मीसँग छैनन्। उनीहरूका लागि बैंकको सेवा लिनु सधैं चुनौतीको विषय बनेको छ।

रेड लाइट एरिया स्रोतका अनुसार यौनकर्मी महिलालाई सहयोग गर्न भिवन्डी रेड लाइट एरियामा सन् २०१८ तिर एउटा सहकारी बैंक स्थापना गरिएको अधिकारीहरू बताउँछन्। तर कोरोनाले निम्त्याएको संकटले यी सबै संरचना ध्वस्त पारेको उनीहरूको प्रष्टीकरण छ।

आर्थिक अभावका कारण भिवन्डीको बैंक गत दुई वर्षअघि नै बन्द भइसकेको स्थानीय सामाजिक कार्याकर्ताले जनाएका छन्। त्यसअघि सन् २००७ मा अमेरिकी संस्थाको कोषमार्फत् कमाठापुरामा ‘संगिनी महिला सहकारी बैंक’ पनि स्थापना गरिएको थियो।

तर त्योबेला पनि आर्थिक अभाव हुँदा सन् २००९ मै बन्द गर्न बाध्य भएको अधिकारीहरूको गुनासो छ।

संगिनी बैंकमा एउटा फोटोका आधारमा यौनकर्मीको बैंक खाता खोलिएको कमाठापुराका स्थानीय रामचन्द्र चौहानले बताएका छन्। ‘आजकल रेड लाइट एरियामा पहिले झैँ ग्राहक आउँदैनन्। मुम्बई ज्याँदै महंगो छ।

पैसाको चिन्ता छ,’ भिवन्डी रेड लाइट एसियामा यौनकर्म गरेर बाँचिरहेकी ३४ वर्षीया रमिलाले बताइन्।

उनी चार वर्षअघि भारतको मध्यप्रदेश–भोपालबाट भागेर मुम्बई आएकी हुन्। उनी घर–परिवारसँग टाढिएको वर्षौ भयो। भोपालले अहिलेसम्म रमिलालाई खोजेको छैन। गाउँ–घरप्रति उनको पनि मन भाँचिएको छ।

उनीजस्ता कैयौंका यस्तै पीडा छन्। रहरलाग्दो सपना र आशाले थिचिएका छन्। आजभोलि काम पाउनै मुस्किल छ। कमाएको पैसा जोगाउनै कठिन छ। नानी–बाबुको पेट पाल्नुपर्ने अर्को जिम्मेवारी पनि छ।

मुम्बईले यौनकर्मीहरूको सुधारात्मक उपाय खोजिरहेको अधिकारकर्मी तथा पत्रकार प्रवीण सिंह बताउँछन्। बाध्यताले यौन कर्म रोजेका कैयौँ चेलीहरू परिवर्तनको पक्षमा छन्। कोठी उनीहरूको रुचि होइन बाध्यता हो।

भिवन्डीको कोठीमा यौनकर्मीहरूको बसाइँ पनि व्यवस्थित छैन। एउटा कोठामा १० देखि १४ जनासम्म बस्छन्। आफुहरूका लागि खोलिएको बैंक बन्द भएपछि समस्या झन् बढेको यौनकर्मी ललिता बताउँछिन्।

‘पाँच सयदेखि पाँच हजारसम्म पैँसा ओछ्यानमा राख्नु परेको छ। कसैले लैजान्छ कि भन्ने डर छ। लुकाएर राख्नुपर्छ,’ उनी भन्छिन्। ‘लत्ताकपडा र भाँडाकुँडा समेत चोरी हुने ठाउँबाट कसरी पैँसा जोगाउने’ उनीहरूको ठूलो चिन्ता छ।

दुई वर्षसम्म कमाठापुरा र भिवन्डीका यौनकर्मी महिलालाई ज्यान पाल्न संकट थियो। तर अहिले भविष्यको चिन्ता लाग्न थालेको छ। कथन थियो– मुम्बई कहिल्यै सुत्दैन। मुम्बईले सपना उजागर गर्छ। तर मुम्बई आजकल मस्तले सुतिरहेको छ। मनभित्रका सपना मरिरहेका छन्। भिडियो । बीएल नेपालि सेवा

Comment