बुधबार १९ आश्विन २०७९

गत वैशाख २७ गते शुक्रबार जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप दुर्घटनामा पर्‍यो। वैशाख २६ गते बिहीबार बेलुका सुर्खेतबाट जुनीचाँदे गाउँपालिका गएको उक्त जीपमा ११ जना सवार थिए।

त्यसै जीपमा जुनीचाँदे गाउँपालिका–६ का १९ वर्षीया देव दर्शन सिंह पनि थिए। जो गाउँपालिकाबाट नागरिकता बनाउने सिफारिस लिन सुर्खेतबाट गाउँतिर लागेका थिए। उनकी आमा कालिका सिंह पनि साथमै थिइन्। सडक जोखिमपूर्ण भएपछि बिहीबार राति जीपमा सवार सबै जाजरकोटकै छेडागाड नगरपालिकामा पर्ने रादेउमा बास बसे।

शुक्रबार बिहान जीप गन्तव्यतर्फ हिँड्यो। केही समय अगाडि बढेपछि शुक्रबार बिहान ८ बजेतिर त्यही जीप दुर्घटनामा पर्‍यो। दर्शनकै गाउँ नजिक भएको दुर्घटनामा उनको घटनास्थलमै मृ’त्यु भयो। साथमा गएकी आमा कालिकाले पनि अस्पताल लैजाने क्रममा ज्यान गुमाइन्।

उनीहरूसहित जीपमा सवार तीनजनाको मृ’त्यु भएको थियो। उक्त घटनाले उतिबेला गाउँ नै शोकमा डुब्यो। दर्शनले नागरिकताको प्रमाणपत्र निकाल्न पाएनन्। त्यो घटना केही समयपछि सेलायो। तर, त्यही घटनासँग जोडिएको वियोगान्त कथा संयोग बनेर आइपुगेको छ।

१२ कक्षाको नतिजा आएसँगै एक दुःखसहितको बधाई समेटिएका शब्द मिश्रित तस्बीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जीप दुर्घटनामा मृ’त्यु भएका देवदर्शन सिंहको फोटो सामाजिक सञ्जालभरी छ। गत वैशाख १६ गतेदेखि २५ गतेसम्म राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षाको नतिजा आएसँगै देवदर्शन फेरि चर्चामा आएका छन्।

जीवविज्ञान संकायबाट उनी कर्णाली प्रदेशमै दोस्रो भए। उनले ३.७० जीपीए ल्याएका छन्। तर, तिनै अभागी दर्शनले आफ्नो नतिजा हेर्न र सुन्न पाएनन्। बोर्डले शुक्रबार मात्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको थियो। देव दर्शन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको उषा बालबाटिका माध्यमिक विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययानरत थिए।

विज्ञानका विद्यार्थी उनी मिहिने र क्षमतावान थिए। उनको सपना भविष्यमा डाक्टर बन्ने थियो।एमबीबीएस पढ्ने योजनासहित अध्ययानरत दर्शन आफ्नो बल, मिहिनेतले नै केही गर्नुपर्छ भन्ने सोच राख्थे। सामान्य परिवारमा जन्मिएका उनका लागि उच्च शिक्षा अध्ययन गर्न सजिलो भने थिएन।

मिहिनेती भएकै कारण छात्रवृत्तिमा पढ्न पाएका थिए। कक्षा १२ मा पनि राम्रो अंक ल्याएर छात्रवृत्तिमा काठमाडौं पढ्न जाने योजना बनाएका थिए। त्यसका लागि उनी परीक्षा सकिएसँगै वैशाख २६ गते नागरिकता बनाउन जाजरकोट गए तर कहिलै नफर्किने गरी बिदा भए।

विद्यालयका प्रधानाध्यापक सुशील भुसालले दर्शनलाई निकै मिहिनेती र इमान्दार विद्यार्थीका रुपमा सम्झिए। दर्शन उनलाई छात्रवृत्तिमा नाम निकालेर काठमाडौं पढ्न जाने योजना बनाएको सुनाउँथे। ‘बुबाआमालाई दुःख दिँदैनथे। भविष्यमा डाक्टर बन्ने योजनासाथ पढाईमा पनि मिहेनत गरिरहेका थिए।

शिक्षकहरूले पनि उनलाई बाबु भनेर सम्बोधन गरेर माया गर्ने गर्नुहुन्थ्यो,’ भुसालले थपे, ‘उनी साँच्चिकै इमान्दार, लगनशील र बौद्धिक विद्यार्थी थिए। केही गर्नु पर्छ भन्ने इच्छाशक्ति भएको विद्यार्थी थिए।’, आफू पिन्सिपलसँगै शिक्षक पनि भएकाले दर्शनलाई नजिकबाट चिनेको उनले सुनाए।

‘उनको आनीबानी बुझेको थिएँ। उनमा त्यस्ता केही कुरा विशेष थिए, जो अन्य विद्यार्थीमा पाउन मुस्किल छ’, भुसालले भने, ‘पढाई मात्र नभएर अतिरिक्त गतिविधि, राजनीतिक र सामाजिक कुरामा पनि उनको चासो र सक्रियता देख्दा मन प्रफुल्ल हुन्थ्यो’

भुसालले दर्शनको मृत्युपछि शिक्षा क्षेत्रको चम्किँदै गरेको तारा नै गुमाएको बताए। ‘हाम्रो विद्यालयमा उनी जस्तो विद्यार्थी पाउन मुस्किल छ। सायद त्यस्तो विद्यार्थी पाउँदैनौँ। शिक्षा क्षेत्रको उदाउँदो तारा गुमयौँ,’ भुसालले भावुक हुँदै भने, ‘को’रोना भाइरस महामारीले शिक्षा क्षेत्रलाई तहसनहस पारेको अबस्थामा पनि उनले ल्याएको नतिजा प्रेरणादायक छ।’

जाजरकोटको पनि ग्रामीण क्षेत्र जुनिचाँदेमा जन्मिएका दर्शनले ल्याएको नतिजाले उनी बितेर गए पन सबैको मन जितेको शिक्षकहरु बताउँछन्। उनको मिहिनेत र पढाईप्रतिको लगावले नै यो नतिजा आएको हो।

१२ को नतिजा आएको थाहा पाएपछि दर्शनका भाइ तत्तबहादुरले प्रिन्सिपल भुसालसँग कुरा गरेका थिए। दाजुको नतिजाबारे भनेपछि उनै भुसाल सरले अरु विद्यालयको पनि बुझ्नुपर्ने भएकोले बाहिर नखुलाउन आग्रह गरेका थिए। त्यसपछि अन्य विद्यालयमा बुझ्दा दर्शनको नतिजा प्रदेशभर उत्कृष्ट भएको भुसालले सुनाएँ ।

नतिजा राम्रो आयो तर, दर्शनको भौतिक शरीर यहाँ नहुँदा विद्यालय र आफन्तलाई स्तबध बनायो। त्यो नतिजाले उनीहरुलाई थप दुःखी बनायो। एसईईमा पनि वीरेन्द्रनगरकै अमरज्योति माध्यामिक विद्यालयबाट ४ जीपीए ल्याएर दर्शन प्रथम भएका थिए।

त्यसपछि उनी छात्रवृत्तिमा निजी क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय उषा बालबाटिकामा आएका थिए। उच्च शिक्षामा उनको रोजाइमा परेको विद्यालय थियो यो। विज्ञान संकायमा भर्ना भएका थिए। मिहिनेकै फल विज्ञान संकायमा (जीव) कर्णाली प्रदेशकै प्रथम स्थान हासिल गर्न सफल भए।

‘धेरै विद्यालयमा विज्ञानतर्फका विद्यार्थीमध्ये उत्कृष्ट हुन दर्शन। अब हाम्रा लागि त उनी सधैँ, अटल र अम्मर छन्’, उनले भने, ‘उनले हाम्रो विद्यालयमा ठूलो छाप छोडेर गए। त्यस्तो सक्षम, सिर्जनशील विद्यार्थीको त्यो दुःखद मृत्युवरणले अझै स्तब्ध छौँ। उनले विद्यालयमा छाडेको छापका कारण उनी हाम्रो मन मस्तिकषमा सधैँ रहनेछन्।’

नतिजा आएसँगै विद्यालयले दर्शनका साथीहरूसँग मिलेर उठाएको पैसाले उनको सम्झनामा सुर्खेतस्थित साझा घर नेपाल र मानवसेवा आश्रमलाई सहयोग रहेको छ। जहाँ अशक्त, असहाय, विपन्न, दुःखमा परेकाहरू बसोबास गर्दछन्। दर्शनको सम्झनामा उनीहरुलाई कापी, किताब र कलम वितरण गरिएको विद्यालयले जनाएको छ।

उनका भाइ तप्तबहादुर सिंह सुरुमा जाजरकोटको खलंगाकै पढ्थे। ‘म नर्सरीमा भर्ना भएँ, दाइ सिधै १ मा, उनी पहिलो वर्षमा तेस्रो र त्यसपछि लगातार कक्षा १० सम्म प्रथम भए’, उनले भने, ‘पहिला मेरो पफर्मेन्स राम्रो थिएन। म पनि दोस्रो र तेस्रोमा प्रतिस्पर्धा गर्थेँ।

तर, दाइसँग प्रतिस्पर्धा गर्ने विद्यार्थीहरु नै थिएनन्। उनी सधैँ स्कुल प्रथम पनि हुन्थे’, उनले भने। त्यसपछि ०७२ सालमा दाजुभाइ सुर्खेत झरेका थिए। त्यो बेला भाइले ३ र दाइले ५ कक्षा पास गरेका थिए। सुर्खेत आएर दर्शन ६ र भाई तप्तबहादुर ४ मा भर्ना भए। वीरेन्द्रनगरको डाइनामिङ बोर्डिङ स्कुलमा पनि दुवै भाइ प्रथम भए।

‘त्यहाँ पनि दाइको पोजिसन घटेन, मेरो घट्यो। ८ कक्षासम्म त्यही विद्यालयमा पढेपछि दाइ वीरेन्द्रनरको सामुदायिक विद्यालय अमरज्योति माविमा ९ र १० कक्षा अध्यायन गर्नुभयो। कक्षा ८ मा ४ जीपीए ल्याउनु भएको थियो,’ तत्तबहादुरले भने।

तत्तबहादुर अहिले उषा बालबाटिकामै कक्षा ११ मा अध्ययन गर्छन्। ‘दाइको पढाइलाई मैले फोकस गर्नुपर्छ भनेर कोठामा खाना आफैँ पकाउँथे, लुगा पनि आफैँ धुने गर्थेँ। दाइको लागि सबै काम गरेँ, उहाँले ठूलो भएर केही गर्नु भयो भने मलाई पनि कतै सेटल गर्नुहुन्छ भन्ने लागेको थियो।

दाइको लागि म लाग्छु। दाइले जागिर खानु भयो भने मलाई हेर्नुहुन्छ भन्ने लागेको थियो,’ निरामुद्रामा तप्तले भने। उनलाई दर्शनले कहिल्यै गाली गरेनन्, पिटेनन्। ‘कहिलेकाहीँ गल्ती गरेपछि रिसाउनु हुन्थ्यो, मलाई सम्झानु हुन्थ्यो’, उनले भने, ‘सानैदेखि दादा र मसँगै बस्यौँं। बाबा, ममी भरतको सिम्ला र मनालीतिर धेरै बस्नु हुन्थ्यो।’

तत्तबहादुरका अनुसार बुवाा विगत ४ वर्षदेखि घर आएका थिएनन्। आमा मात्रै बीचबीचमा घरमा आउँथिन्। ‘गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मात्रैे बुबा घरमा आउनु भएको हो’, उनले भने, ‘अहिले यहीँ हुनुहुन्छ । बाहिर जानु भएको छैन। दाइ र ममीले देखेको सपना मैले साकार गर्ने छु।’

दर्शनका घरमा एक भाइ, बुबा, आमा र उनी थिए। दर्शन र आमाको मृत्युपछि परिवारमा बुबा र भाइ मात्रै छन्। भाइ तत्तबहादुर सिंह र बुवा कोठा भाडामा वीरेन्द्रनगर–११ एरपोर्टमा बस्दै आएका छन्। ‘हामीले उनका भाइलाई हेरेर चित्त बुझाउने गरेका छौँं। देव दर्शनको सम्बन्ध पनि विद्यालयमा राम्रो थियो,’ प्रधानाध्यापक भुसालले बिट मार्दै भने।

दर्शनले कक्षा ११ र १२ मा पढेका र बनाएका नोट तथा किताबहरू पुस्तकालयमा राखिने भएको छ। कृतिका रुपमा छुट्टै फ्रेम बनाएर राख्ने योजना विद्यालयले बनाएको छ। ‘यहाँ पढ्ने आउँने अन्य विद्यार्थीहरूलाई समेत सिकाइ होस भन्ने चाहान्छौं। त्यो एक प्रेरणाको स्रोत समेत बनोस्’, भुसालले थपे, ‘सबै विद्यार्थीले दर्शनले जस्तै मिहिने गरुन् भन्ने विद्यालय चाहन्छ।’

२०६५ सालबाट कक्षा ११ र १२ सञ्चालनमा आएको विद्यालयले ११ र १२ कक्षामा सुरुदेखि प्रदेशमा पहिलो, दोस्रो र सुर्खेतमा सधैँ पहिलो नतिजा ल्याउने गरेको छ। २०६६, ०६७, ०६८ देखि लगातार उत्कृष्ट भइरहेको विद्यालयले जनाएको छ। २०३७ सालमा स्थानपना भएको विद्यालय कर्णाली प्रदेशको नतिजामा जेठो हो। नेपाल खबर


Last Updated on: September 5th, 2022 at 12:39 pm

तपाईको प्रतिक्रिया