
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको झाँक्री खोलाका खिमलाल सापकोटा र लक्ष्मी सापकोटाको फोटो सामाजिक सञ्जालमा चर्चामा छ। लक्ष्मीले केराको रूखबाट छुट्याइएको तर काइँया भने नछुट्याइएको केराको घरी लिएर खिचेको फोटो धेरैलाई मन पर्यो।
लक्ष्मीले लिएको केराको घरी करिब उनकै उचाइ बराबरको छ। एकमान्छे उचाइको केराको काइँया सहितको घरी सायदै देख्न पाइएला। एउटै घरीमा ३३ दर्जनभन्दा बढी कोसा भएको केरा हेर्नका लागि छिमेकीहरू पनि खिमलालकोमा धाए। उनीहरूले सामाजिक सञ्जालमा राखेको फोटो धेरैलाई मन परेको छ।
खाद्य बालीदेखि फलफूलसम्म सबैमा हाइब्रिड जातका बिउहरूको प्रयोग बढ्दै गइरहेको बेलामा स्थानीय जातका बिउबीजनहरु हराउँदै जान थालेका छन्। तर खिमलाल दम्पत्तीकोमा फलेको केरा भने कुनै हाइब्रिड जातको नभएर स्थानीय जातकै हो।
आफ्नो केरा बगैँचामा रहेका अरू घरीहरूमा पनि उत्तिकै सङ्ख्यामा कोसा लागेका सापकोटा बताउँछन्। पेसाले शिक्षकसमेत रहेका खिमलाल आफ्नो बारीमा फलेको केराले कमाएको चर्चाले दंग छन्। जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका विश्वास गुरुङ पनि पेसाले शिक्षक नै हुन्।
व्यावसायिक रूपमा तरकारी खेती नगरेको भए पनि घर चलाउनको लागि केही झाल घिरौँला रोपेका उनले टिकटिकमा राखेको घिरौँलाको भिडियो धेरैलाई मन परेको छ। झालमा फलेका घिरौँलाको लम्बाई एक मिटरसम्म रहेको उनले बताए।
घिरौँलाको प्रजातिको बारेमा सोध्दा उनले गाउँघरमै उपलब्ध हुने बिउ लगाएका कारण रैथाने जातकै घिरौँला भएको हुन सक्ने बताए। आफूले व्यावसायिक रूपमा घिरौँला लगाउन सकेको भए मिटर लामो लम्बाइको घिरौँलाले बजारमा राम्रो भाउ पाउन सक्ने उनको भनाइ छ।