
काठमाण्डाै महानगरपालिकाले गोङ्गबुमा रहेकाे नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतवार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज साेमवार महानगरपालिका २६ मित्रनगरमा अवैधरूपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो ।
वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले जथाभाबी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कमा रहेकाे मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उहाँको भनाइ छ ।
मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपालिकाले गरेको काम सराहनीय भएको बताउनुभयो । ‘मित्रनगर क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ’, उहाँले भन्नुभयो ।
काठमाण्डाै महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयवासीको भिड लागेको थियो । महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ ।
नेपाल प्रहरीको टोलीले नगर प्रहरीको आग्रहमा भीडलाई हटाएको महानगरले जनाएको छ ।महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । सो क्षेत्र वडा नम्बर १६ मा पर्छ ।