Monday, August 15

अस्पतालको बेडमा आमासँगै बसिरहेका नाबालक भन्छन्- किन सुतेको सुतेही गरेको हाम्रो आमाले ?

July 31, 2022

काठमाडौँ

न उठ्न सक्छिन् न बोल्न। धादिङ अस्पतालको बेडमा लडिरहेकी छिन् साङ्कोषकी जानुका कुमाल। नाबालक छोरा बाहेक उनको साथमा कोही छैन। दृष्टिविहिन श्रीमान् थिए, ९ महिनाअघि मृत्यु भयो। माइतमा बुबा आमा छैनन्।

छिमेकीले अस्पतालसम्म ल्याइदिए। आर्थिक अभावकै कारण थप उपचार गराउन सकेकी छैनन्। जानुका अहिले धादिङ अस्पतालको बेड नं. २३ मा छिन्। उठेर शौचालन जान सक्दिनन्।

सात वर्षका छोरा प्रकाशले दिशा पिसाब गराउन सक्दैनन्। औषधी खुवाइदिने समेत कोही छैन। ४ दिनदेखि जानुका बेडमै थलिएकी छन्। जानुकाको घर धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ कुमाल गाउँमा हो। उनी ५२ वर्षकी भइन्।

अस्पतालका चिकित्सकहरुका अनुसार किड्नीमा समस्या छ। पिसावमा पनि खराबी छ। सहारा कोही नभएर छिमेकी हिरादेवी मगरले जसोतसो अस्पताल ल्याएपछि उपचार सुरु भएपनि आर्थिक अभाव र आफन्त नभएकै कारण थप उपचार गराउनबाट वञ्चित हुने अवस्थामा पुगेकी हुन्।

अस्पताल ल्याइदिने छिमेकी हिरादेवी भन्छिन्–‘यो बैनीको घरमा कोही छैन। श्रीमान दुबै आँखा नदेख्ने थिए। तैपनि बजारतिर मादल बजाएर अलिअलि कमाउँथ्यो। श्रीमानको पनि मृत्यु भएपछि अहिले विचल्ली भयो।’

आफूसँग भएको २ हजारले सुरुकै दिन औषधी किनेर सकिएको हिरादेवीले सुनाइन्। ‘सधैँ म पनि आउन भ्याउँदिन। किड्नी र पिसाबमा समस्या छ भन्नुभएको छ, पैसाको छैन। यसलाई घर फर्काएर लान सकिएला जस्तो छैन’, हिरादेवी भन्छिन्, ‘आमाको त विचल्ली भयो नै नाबालाक छोराको पनि विचल्ली हुने भयो।’

आफन्त इस्टमित्र कोही नभएको भनेपछि अस्पतालको सामाजिक सुरक्षा इकाई कार्यक्रममार्फत् सुरुको अवस्थामा अस्पतालले नै निःशुल्क उपचार गराएको छ। सामाजिक सुरक्षा इकाईमार्फत् खर्च गर्न मिल्ने भन्दा धेरै उपचार खर्च भइसकेकोले थप उपचार गराउन कठिन भएको अस्पतालका सूचना अधिकारी विक्रम वि.क.ले बताए।

‘अस्पताल ल्याएर छोड्ने मान्छेले कोही छैन भनेपछि सामाजिक सुरक्षा इकाईबाट उपचार सुरु गराए’ सूचना अधिकारी विकले भन्छन्, ‘अन्तरंग शाखामा भर्ना भएका विरामीलाई निर्देशिका अनुसार ४ हजारसम्मको उपचार खर्च निःशुल्क गराउन पाइने नीति छ।

१२ हजार जति खर्च भइसक्यो। सक्नेजति उपचार गरिरहेका छौं। थप उपचारको लागि काठमाडौँ लानुपर्नेस्थिति छ।’ अबको थप उपचार निःशुल्क गराउन नसकिने र थप उपचार नगराए अवस्था झन् बिग्रदै जाने विकले बताए।

साधारण वार्डमा कार्यरत नर्सिङका स्टाफहरुले नै दिशा पिसाब स्याहारिरहेका छन्। जानुका सुतेको बेडमा नाबालक छोरा सँगै बसिरहन्छन्। तर बेडमा थलिएकी आमाको मुख हेरेर बस्न बाहेक उनको कुनै उपाय छैन। हातैको इसाहारा लगाएरै भएपनि जानुकाले जिवन रक्षा निम्ती अपिल गरिरहेकी छन्।

गाउँका चिनेका मान्छेहरु कहिलेकाही आइपुग्ने रहेछन्। तर उनको उपचारमा कसैले चासो देखाएका छैनन्। अस्पतालको बेडमा विरामी आमासँगै बसिरहेका नाबालक भन्छन्, ‘मेरो आमा त उठ्नु भएकै छैन।’ ‘अब कहिल्यै उठ्न सक्नुहुन्न त?, किन सुतेको सुतेही गरेको हाम्रो आमाले? जस्ता अनेकन सोधिरहन्छन्। तर उनको जिज्ञाशाको जवाफ कसैले दिन सकेका छैनन्।

Comment